तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क फोहर उठाउँदै भानु नगरपालिका

 तनहुँ। तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ ।

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक एक टिपर फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । “हालसम्म नगरवासीको घर–घरबाट निस्कने फोहरमैला उठाउने गरेका छौँ, उठाएको फोहरमैला नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । 

विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायतका नगरपालिकाका बजार क्षेत्रका रूपमा रहेका स्थानबाट फोहरमैला नगरपालिकाले उठाउने गरेको त्रिपाठीले बताउनुभयो । “नगरपालिकाभित्रका सहरी क्षेत्रमा फोहरमैलाको दुर्गन्ध फैलन नदिनका लागि निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ, त्यसपछि अन्य विकल्प सोच्नेछौँ”, नगरप्रमुख त्रिपाठीले भन्नुभयो । 

विशेषगरी दैनिकरूपमा घरबाट निस्केका फोहरमैला सडक, पोललगायतका क्षेत्रमा दुर्गन्ध फैलने गरी स्थानीयवासीले फाल्न थालेपछि यसको व्यवस्थापन गर्नुपर्छ भन्ने हेतुले निःशुल्करूपमा फोहर उठाउने गरिएको उहाँले बताउनुभयो । दैनिक फरक–फरक स्थानबाट फोहर उठाउने गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले उठाएको फोहरमैला भानु नगरपालिका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । नगरपालिकाले सङ्घीयता कार्यान्वयन भएपछि निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नै उक्त फोहर व्यवस्थापनका लागि खरिद गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button