कर्णालीमा प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले घर–घरमा प्रहरीको फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ शुरु गरेको छ ।

प्रहरीले आफ्नो सेवा प्रवाहलाई नागरिकमैत्री सहज र सुलभ बनाउन आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेशका दश वटै जिल्लामा लागु हुने गरी फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ को शुभारम्भ गरेको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ अभियानले अपराधमा कमी आउनुका साथै नागरिकले छिटो छरितो न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रहरी हरेक नागरिकको साथी भएकाले नागरिकसँग राज्य छ भन्ने अनुभूति दिलाउन फोन नम्बर सहितको ‘स्टिकर टाँस अभियान’ निकै प्रशंसनीय कार्य भएको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले फोन नम्बर सहितको स्टिकर टाँस अभियानले छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल पुगेर सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले यो अभियानबाट प्रहरी र नागरिकको सम्बन्ध नजिक हुने र पीडितलाई तत्काल सहयोग पुग्ने धारणा राख्नुभयो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले शीघ्र खबर सङ्कलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति, नागरिक मैत्री सेवाको अपरिहार्यतालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका ३ लाख ७१ हजार भन्दा बढी घरधुरीमा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँसिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्