तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कर्णालीले २४ हजारभन्दा बढी नेता कार्यकर्तालाई स्कुलसँग जोड्दै 

सुर्खेत । नेकपा एमालेले आन्तरिक सुदृढीकरणका लागि कर्णालीका २४ हजार १ सय पार्टीका नेता तथा पार्टी सदस्यलाई पार्टीको स्कुलसँग जोड्ने भएको छ । 

एमालेले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्य, १ सय ३५ प्रदेश कमिटी सदस्य, ५५ जना हरेक जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्य गरी ५५ जना, प्रत्येक पालिका स्तरका ७५ देखि ८० सदस्य, वडा कमिटीमा आबद्ध सदस्य र २३ वटै जनवर्गीय सङ्गठनमा आबद्ध पदाधिकारी तथा सदस्यहरु गरेर २४ हजार बढी नेता कार्यकर्तालाई एक वर्षमा प्रदेश पार्टी स्कुल विभागमा जोड्ने योजना बनाएको हो । 

विभागले सुर्खेतमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमका क्रममा कार्य योजना पारित गर्दै एमाले कर्णालीले प्रदेशका दश वटै जिल्लाका पार्टीका नेता, जनप्रतिनिधि र पार्टी सदस्यहरूका लागि प्रशिक्षण प्रदान गर्ने गरी कार्य योजना निर्माण गरेको केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग कर्णालीका केन्द्रीय समन्वयकर्ता विष्णु रिजालले जानकारी दिनुभयो । 

प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गरेर प्रशिक्षणमा सहभागी ५० जना पार्टीका नेताहरू समक्ष प्रदेश स्कुल विभागको वार्षिक कार्य योजना प्रस्तुत गर्दै केन्द्रीय सदस्य तथा प्रदेश स्कुल विभागका केन्द्रीय समन्वयकर्ता रिजालले पार्टी स्कुलको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि विशेष कार्ययोजना निर्माण गरी कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–७ अनुसार पार्टी अघि बढाउने नीति अनुसार कर्णालीको पार्टी स्कुल विभागले एक वर्ष भित्रमा आधारभूत सिद्धान्त र बिचारका बारेमा प्रशिक्षित गर्न योजना पारित गरेको बताउनुभयो । 

उहाँका अनुसार पार्टी स्कुलको उद्देश्य अनुरुप पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै रुपमा पार्टी स्कुलमा जोड्ने प्राथमिक, माध्यमिक र उच्च तह गरी तीन तहमा विभाजन गरेको छ । 

“प्रदेशस्तरमा माध्यमिक र जिल्ला तथा पालिका तहमा प्राथमिक तहको पार्टी स्कुल सञ्चालन गरी पहिलो चरणमा कम्तीमा कमिटीमा आबद्ध सबैलाई पार्टी कक्षा प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रदेश र जिल्ला तहमा स्थायी रुपमा पार्टी स्कुल सञ्चालन गर्ने योजना अघि सारिएको छ ।”

केन्द्रीय सदस्यका लागि छुट्टै कार्यशाला

एमाले कर्णालीले पार्टीका सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणाहरूमा एक रूप बुझाइ कायम गर्न कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको छुट्टै कार्यशालाको आयोजना गर्ने भएको छ । 

पार्टी केन्द्रीय कमिटीको अपानी–७ बमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूका लागि कार्यशाला आयोजना गरेर कर्णालीको समृद्धिका लागि पार्टीले उठाउनुपर्ने विषयमा एकरूपता कायम गर्न पनि उक्त कार्यशाला आयोजना गर्ने योजना अघि सारिएको नेता रिजालले बताउनुभयो । 

कार्यशालामा प्रत्येक केन्द्रीय सदस्यहरूलाई निश्चित विषयमा तयारीसहित पावर प्वाइन्ट प्रस्तुत गर्न लगाउने र बाँकीले त्यसमा टिप्पणी गर्ने । केन्द्रीय सदस्यका कार्य पत्रहरूलाई समृद्ध बनाएर आधार सामग्रीका रुपमा निर्माण गर्ने उद्देश्य उक्त कार्यशालाको रहने उहाँको भनाइ छ । 

युवाका लागि विशेष कक्षा

नेकपा (एमाले) ले हरेक कमिटीमा आबद्ध युवाहरूलाई सैद्धान्तिक–वैचारिक रुपमा तयार गर्न विशेष प्रशिक्षणहरू सञ्चालन गर्ने निर्णय गरेको छ । 

एमालेले प्रशिक्षणमा कक्षा लिनुभन्दा युवाहरूले मन पराउने, सहभागिता जनाउने र उनीहरूको व्यक्तित्व विकास हुने समूहगत छलफल, कार्यशाला, राउण्ड टेबल जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना ल्याएको छ । 

जनप्रतिनिधिहरूका लागि कार्यशाला

एमालेले आफ्नो तर्फबाट तीनै तहका निर्वाचित पालिकाका पदाधिकारी तथा वडा अध्यक्षहरूका लागि पार्टीले लिएका नीति र विकासका एजेन्डामा आधारित भएर कार्यशाला आयोजना गर्ने भएको छ । 

एमालेले पार्टीको नेतृत्वमा गठन भएको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष्यलाई हरेक तहमा सफल पार्ने, पूर्वाधार निर्माण गर्ने योजना र रणनीतिका बारेमा छलफल गर्न र अवधारणा तय गर्ने प्रदेशबाट विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेश र जिल्ला तहमा कार्यशालाको आयोजना गर्ने भएको छ । 

कर्णाली प्रदेशसभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुखहरूको भेला र प्रशिक्षण सुर्खेतमा र वडा अध्यक्षहरूको भेला सम्बन्धित जिल्लामा गर्ने गरी एमालेले कार्य योजना तयार गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button