चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ ।
आज भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चाइना दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले हाइलेज निर्यात हुनु नेपालका लागि अर्थतन्त्र वृद्धिमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
निर्यातको कार्यक्रमको शुभारम्भ गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।”
यसले नेपालको मित्रतामा थप बलियो हुने भन्दै उहाँले अन्य सम्भावनाको ढोका खुलेको समेत बताउनुभयो । “चीन र नेपालको लामो समयदेखि असल मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ र निरन्तर सहकार्य हुँदै आएको छ । हाइलेज निर्यातले नेपालको निर्यात प्रवर्द्धनमा थप टेवा पुगेको छ ।” उहाँले थप्नुभयो ।
उहाँले हाईलेज को निर्यात हुनु ऐतिहासिक उपलब्धी र कोशेढुंगा भएको बताउनुभयो । नेपालले हाइलेजको उत्पादन र गुणस्तरीयतामा वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्री डा.बेदुराम भुषालले नेपालबाट हाइलेज चीनमा निर्यातको शुरुवात हुनु महत्त्वपूर्ण योगदान र सुखद् पक्ष रहेको बताउनुभयो ।

उहाँले कृषि उत्पादनको निर्यातले नेपालको अर्थतन्त्र सबलीकरणमा मद्दत पुग्ने बताउनुभयो । हाइलेजको उत्पादन वृद्धि गर्न बाँझो जमिनमा हाइलेज उत्पादन गर्नुपर्नेमा जोड उहाँले दिनुभयो ।
हाइलेज उत्पादन गर्ने न्यू होराइजन इन्टरनेशनल कम्पनीका सिइओ चाङ्गले चितवनमै हाइलेज उत्पादन गरेर तीन हजार टन हाइलेज निर्यात गर्न सफल भइसकेको जानकारी दिनुभयो । हाइलेजसंँगै आगामी दिनमा अन्य कृषिजन्य उत्पादन गर्ने र निर्यात गर्न प्रयास गरिने उहाँले बताउनुभयो ।
हाईलेज निर्यात गर्न गत बर्ष नेपाल सरकार र चीनबीच द्विपक्षीय सम्झौता भएको थियो ।
कार्यक्रममा चीनका विभिन्न क्षेत्रका प्रतिनिधिमण्डल, कृषि विभागका महानिर्देशक, कर्मचारी, भरतपुर महानगरपालिकाका उपमेयर तथा कर्मचारी तथा राजनीतिक दलका नेता तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्