युद्ध अन्त्यको माग गर्दै रुसी दूतावासअघि प्रदर्शन
काठमाडौँ । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५ औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौँस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ ।
आज दिउँसो सम्पन्न प्रदर्शनमा ‘रुस : तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन : मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिन : इतिहास लज्जित’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थी, आन्तरिक रूपमा विस्थापित’, ‘खरबौँको क्षति, युद्ध लम्बिँदै छ’, ‘मानवता पराजित हुँदैछ’ लगायतका प्लेकार्ड प्रदर्शन गर्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरिएको थियो ।
प्रदर्शनपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुःखद् अनुभव शान्ति समाजले गरेको उल्लेख गर्दै सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तत्काल अन्त्य गर्न पुनः आग्रह गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो ।
शान्ति समाजले ‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने आह्वानसहित २७ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ । विगतमा रुसलाई युद्ध रोक्न आग्रहसहित काठमाडौँस्थित रुसी राजदूतावास अगाडि पटक पटक र देशभरि एक सयभन्दा बढी प्रदर्शन गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्