तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति जोगाउन मालुमेलामा कला प्रदर्शन

बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका–९ मा परम्परागत संस्कृतिको जगेर्नाका लागि कला प्रदर्शन आयोजना गरिएको छ । 

लोपोन्मुख अवस्थामा रहेका परम्परागत कला,सांस्कृतिकको संरक्षणका लागि वडाले आर्थिक सहयोग गरेर शुक्रबार स्थानीय कला, संस्कृति प्रदर्शन गराएको हो । पहिचानका रूपमा रहेका मागल, भात्र्या नाच, गौरा, भारीखेल, देउडाजस्ता संस्कृति संरक्षणको अभावमा लोप हुने अवस्थामा पुग्न थालेको थलारा गाउँपालिका–९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वडाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको छ ।‘यिनको संरक्षणमा टेवा पुगोस् भनेर स्थानीय कला, संस्कृति प्रदर्शनको आयोजना गरेका हौँ ।’ चाडपर्व, मेला, विवाह, पूजाजस्ता सामाजिक कार्यहरूमा मात्र उक्त कला संस्कृति सीमित हुन थालेको उहाँको भनाइ छ । ‘वर्षमा एकपटक भए पनि प्रदर्शन आयोजना गर्ने हो भने कम्तीमा प्रदर्शनका लागि त तयारी गर्छन् ।,’ उहाँले भन्नुभयो, ‘यसले पनि युवापुस्तालाई हाम्रो कला संस्कृतिको बारेमा अवगत हुन्छ र बिस्तारै यसमा लाग्न प्रेरित गर्छ ।’ 

पुराना चलन हराउँदै छन् । संस्कृतिको जगेर्ना भएन । शिक्षित युवाहरू हूलका हूल बिदेसिइरहेको अवस्थामा धेरैले यसैमा चिन्ता गर्छन् । युवा पुस्ताले संस्कृति जगेर्नामा बेवास्ता गरेको आरोप लाग्ने गर्छ । तर ती आरोप शतप्रतिशत सही भने छैन । पहिला आफ्नो संस्कृतिबारे खुलेर बोल्न नसक्नेहरू पनि अहिले आफ्नो गाउँ ठाउँको पहिरन नृत्य, चाडपर्वमा खुबै जम्ने गरेका देखिन्छन् । बझाङको सदरमुकाम चैनपुरका विभिन्न स्थानमा भइरहने मेला, महोत्सवमा महिलाहरू सांस्कृतिक पहिरनका साथ सहभागी हुने गर्छन् । देउडा गाउने पनि देखिन्छन् भने भारी खेल्ने, भुवा खेल्ने, मागल गाउने पनि भेटिन्छन् ।

थलारा गाउँपालिका–९ स्थित मालुमेलाका ज्ञान बहादुर दमाई परम्परागत भात्र्या पहिरन सहित हातमा पर्दा दङ्ग पर्छन् । बुवाको पुर्ख्यौली पेसा नै त्यही भएपछि आफूले पनि सोही पहिरनमा आउनु परेको बताउनुभयो । ‘पहिला लाज लाग्थ्यो ।,’ उहाँ भन्नुहुन्छ , ‘अहिले त्यस्तो लाग्दैन । पहिला बुवा सँगै गाउन जान्थे विचमा छोडे, अझ यसलाई निरन्तरता दिँदै छु । आजभोलि आफ्नो कला, संस्कृति झल्कने पहिरन लगाउँदा गर्व महसुस हुन्छ ।’ उहाँ आफ्नो संस्कृति जोगाउने जिम्मेवारी युवामा आएको बताउनुहुन्छ । ज्ञान बहादुर गाउँमा हुने विवाह, व्रतबन्ध, छैटी पुजामा कहानी, र नित्य पनि गर्नुहुन्छ । उहाँले बुवाको मृत्यु पछि शुक्रबार पहिलोपटक भात्र्या नाच देखाउनुभएको हो ।

कार्यक्रममा सहभागी थलारा माध्यमिक विद्यालयका शिक्षक प्रेम बहादुर सिंहले जोसुकैले अहिले पुरानो पहिरनमा सजिन सजिलो अवस्था नरहेको बताउनुभयो । ‘अहिलेका युवा–युवतीहरू पाइन्ट, टिसर्ट लगाउने गर्दछन् । त्यो पनि ठाउँ–ठाउँ च्यातिएको हुन्छ । त्यस्ता पहिरनमा हिँड्न लाज मान्दैन ।’, उहाँले भने, ‘आफ्नो बोली, भाषा गर्न भने लज्जित भएको महसुस गर्छन् । यसले मातृत्व र जननीप्रतिको प्रेम हराउँदै गएको प्रष्ट हुन्छ ।’ जनप्रिय माध्यमिक विद्यालयका शिक्षक भिम खड्काले परम्परागत पहिरनले थलाराको कला, संस्कृति, सबैको झल्को दिने गरेको बताउनुभयो । ‘संस्कृति पनि त हाम्रो पुँजी हो । यसले हाम्रो मौलिकता र वास्तविकता दुवै बोल्छ ।’, खड्काले भन्नुभयो, ‘हामी त माल भएर पनि चाल नपाउने कस्तुरी मृगजस्तै भयौँ ।’ चक्रेश्वर माध्यमिक विद्यालयका शिक्षक विरेन्द्र गिरीले भने,‘पहिरन हाम्रो सम्पत्ति, पहिचान र इतिहास हो । यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ । यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ ।’

स्थानीय कला संस्कृतिको प्रचारप्रसार र संरक्षणमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्ण विष्टले बताउनुभयो । थलाराको कला संस्कृतिसमेत जिल्लामै नमुना र उदाहरणीय रहेको भन्दै संरक्षण र प्रचारप्रसारमा लाग्न स्थानीयलाई अनुरोध गर्नुभएको छ । थलारामा ऐतिहासिक देउडा खेल खेल्ने प्रचलनदेखि अन्य लोपोन्मुख कला संस्कृतिको अवस्था अझै पनि प्रख्यात रहेको उपप्रमुख विष्टको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button