तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकपको पहिलो चरणका लागि फुटबल टोलीको घोषणा

काठमाडौँ । फिफा विश्वकपको पहिलो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा भएको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले डेब्यु गर्न बाँकी रहेका १२ खेलाडी समेट्दै ३० सदस्यीय टोली घोषणा गरेका हुन् ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक अनेसेले टोलीमा खेलाडी छनोट गरेका हुन् । ४ खेलाडी पहिलो पटक प्रारम्भिक टोलीमा पर्दा यसअघि अनेसेको रणनीतिक प्रशिक्षणमा सहभागी भएका ६ खेलाडी टोलीमा पुनः आएका छन् । विगतमा टोलीमा परेर डेब्यु गर्न नपाएका दुई खेलाडीले पुनरागमन गर्दा राष्ट्रिय टोलीको जर्सी लगाइसकेका मिडफिल्डर सुदीप गुरुङ टोलीमा फर्केका छन् ।

डिफेन्डर द्वय अञ्जन राई र छिरिङ लामा तथा मिडफिल्डरद्वय उत्सव राई र विवेक पौडेल पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परेका हुन् । गोलरक्षक अनिष देउला, मिडफिल्डर विशाल तामाङ, डिफेन्डर द्वय अन्जल महर्जन र आशिष गुरुङ तथा फरवार्ड द्वय दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की यसअघि प्रशिक्षक अनेसेको रणनीतिक प्रशिक्षणमा भने सहभागी थिए । गोलरक्षक अभिषेक बराल र कृतिश रत्न छुन्जु भने राष्ट्रिय टोलीमा रहेपनि डेब्यु गर्न बाँकी रहेको छ ।

साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पूजन उपरकोटी, नवीन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् । मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले अक्टोबरमा फिफा विश्वकप छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । दुई लीगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button