तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मत पारित

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । शनिबार बसेको उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको लागि कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बराबरको बजेट सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले गत असार २ गते बसेको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ खर्च बेहोरिने गरी २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । उक्त नीति कार्यक्रम र बजेटमा व्यापक छलफल पछि आज बसेको नगर सभाले सर्वसम्मत पारित गरेको प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभयो ।

आज बसेको नगर सभाले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सर्वसम्मतरुपमा पारित गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नगर सभाले २०७९/०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकाश प्राप्त कर्मचारीको उपदान, बिदा तथा औषधी उपचार खर्च, न्यायिक समितिले गरेको कामको अनुमोदन, फरफासक समितिबाट भएका योजनाका कामको अनुमोदन, चालु आबमा सम्पन्न भई भुक्तानीका लागि बाँकी रहेका योजनाको भुक्तानी दायित्व सार्ने सर्वसम्म निर्णय गरेको छ । त्यस्तै सङ्गठन सुद्रिढकरण तथा व्यवस्थापन प्रतिवेदन स्वीकृति गर्ने निर्णय समेत गरेको छ ।

हेटौँडाको सडक बिस्तारमा जनप्रतिनिधिको एकमत
लामो समय देखि चर्चामा रहँदै सेलाउँदै गरेको हेटौँडा बजार क्षेत्रको सडक बिस्तारको विषयमा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको एक मत देखिएका छन् । एसियाली बिकास बैङ्कको लगानीमा बिस्तार तथा निर्माण हुने पूर्वपश्चिम राजमार्गको हेटौँडा बजार क्षेत्रका लामो समय देखि विवाद रहँदै आएको थियो । विवाद बिच अदालत सम्म पुगेका हेटौँडा बजार क्षेत्रका बासिन्दालाई २५ गज सम्म भत्काउन सकिने भन्दै आएको निर्णय कार्यान्वयन हुन नसकेर रोकिएको समयमा जनप्रतिनिधीहरुको एक मत आएको हो ।

सडक विस्तारको विषयमा जिल्लाका दलहरूबिच मतभिन्नता सिर्जना भइरहेको अवस्थामा शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरुपमा सडक बिस्तारको पक्षमा उभिएका हुन् । सडक बिस्तारको अभियानमा उपमहानगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले उठेर एकमतले समर्थन जनाएका थिए । डिभिजन सडक कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरी काम अघि बढाउने तयारी थालेको छ । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button