तपाईँ सुन्दै हुनुहुन्छः

मनोरञ्जन क्षेत्रमा हुने मानव बेचबिखनमा भरतपुर महानगर तेस्रो स्थानमा 

चितवन । पछिल्ला वर्षमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्र बाट  हुने मानव बेचबिखनमा नेपाल कै तेस्रो स्थानमा रहेको पाइएको छ । काठमाडौँ र पोखरा पछिको मुख्य मनोरञ्जन व्यवसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेको एक अध्ययनले  देखाएको हो  । सामरी उत्थान सेवा नामक संस्थाले आज भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्र मार्फत हुने मानव बेचबिखन सम्बन्धि एक दिने गोष्ठीमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

संस्थाले २०७८ सालमा चितवनको राप्ती र माडी नगरपालिका  एवं भरतपुर महानगरपालिका विभिन्न  क्षेत्रमा गरि ४ सय २० घरधुरीमा सर्वेक्षण गरेको थियो । जस अनुसार त्यस क्षेत्र बाट ९ दशमलव ४ प्रतिशत महिला तथा वालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जस मध्ये ८५ दशमलव ५ प्रतिशत श्रमिकहरूले आफूहरू माथि शोषण हुने गरेको बताएका थिए । सर्वेक्षण अनुसार यस क्षेत्रमा १३ दशमलव ६ प्रतिशत श्रमिकहरू १० देखि १४ वर्षका बालबालिकाहरू रहेको देखिएको छ । 

नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरू मध्ये ६८ दशमलव ४९ प्रतिशत घटनाहरू आन्तरिक मानव बेचबिखन सँग सम्बन्धित रहेको सामरी उत्थान सेवाका अध्यक्ष बिमला गायकले बताउनु भयो । ‘आन्तरिक मानव बेचबिखनको सबैभन्दा ठुलो क्षेत्र वयस्क मनोरञ्जन क्षेत्र भएको छ, । यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात् १८ प्रतिशत हिस्सा ओगटेको छ । ’अध्यक्ष गायकले भन्नु भयो । 

होटल तथा रेस्टुरेन्ट, खाजाघर, दोहोरी साँझ, गजल घर, डान्स बार, हुक्का बार, मसाज सेन्टर, जस्ता स्थल आन्तरिक मानव बेचबिखनका क्षेत्र बन्दै गएको उहाँले बताउनु भयो  । जिल्लामा करिब ६ सय ५० वटा होटल,भरतपुर र रत्ननगरमा गरि करिब ५ सय वटा होटलहरु र झण्डै ७ सय ५० वटा रेस्टुरेन्ट रहेको उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै गरि भरतपुर र रत्ननगरमा ९ वटा दोहोरी साझ,३ वटा मसाज सेन्टर र एउटा क्लब सञ्चालनमा रहेका छन् । 

नेपालका प्रमुख सहरहरूमा क्याबिन रेस्टुरेन्ट, दोहोरी साझ, डान्सबार, मसाज सेन्टर, पार्लर जस्ता मनोरञ्जन केन्द्रमा यौन शोषणका गतिविधिहरू बढ्दै गएको र बढ्दो वयस्क मनोरञ्जन व्यवसायले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारका घटनामा वृद्धि भएको सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले बताउनु भयो ।  त्यस्ता व्यवसायमा कम उमेरका किशोर किशोरीहरूको उल्लेख्य सहभागिता रहेको,श्रम शोषण,यौन दुर्व्यवहार, मौखिक दुर्व्यवहार,बलात्कार प्रयास,शारीरिक सम्पर्कका लागी अनुरोध,अनुचित स्पर्श आदि जस्ता कार्यहरू हुने गरेको ज्ञवालीको भनाइ छ । 

सो अवसरमा बोल्दै  भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखनको डरलाग्दो अवस्थालाई समयमै समाधान गर्न नसके यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्ने बताउनु भयो । उप प्रमुख अधिकारीले मानव बेचबिखनको अवस्था दिन प्रति दिन भयावह बन्दै गएको भन्दै यसको समाधानका निम्ति चितवनका सातै पालिका जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । उहाँले मनोरञ्जनका क्षेत्र मार्फत हुने मानव बेचबिखन पछिल्ला दिनहरूमा थप पेचिलो बन्दै गएको प्रति चिन्ता समेत व्यक्त गर्नु भयो । 

मानव बेचबिखनका घटना न्यूनीकरणका लागि नेपाल सरकारले दीर्घकालीन रुपमा गरिबी नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, सचेतना फैलाउनुका साथै सीमानाकामा कढाइ गर्ने जस्ता कार्यलाई तीव्रता दिनुपर्नेमा सहभागी वक्ताहरू जोड दिएका थिए ।

कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छा विपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिने गरिन्छ।

हाल मानव बेचबिखन नेपालको मात्र नभएर विश्वव्यापी चुनौतीको रुपमा  देखिएको छ । नेपाल जस्तो विकासोन्मुख र बेरोजगारी बढी भएको देशमा थप बढी समस्या देखा परेको हो ।।

उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा चितवनका सातै पालिकाका उप प्रमुख एवं न्यायिक समितिका संयोजक, सदस्यहरु, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । 

हाल सामरी उत्थान सेवाले चितवन जिल्लाको माडी नगरपालिका र भरतपुर महानगरपालिकामा मनोरञ्जन क्षेत्रमा हुने शोषण र मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि जीविकोपार्जन सुरक्षा परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button