८२ बर्षीया यामकुमारीको जोस : गलैँचा बुनेरै आत्मनिर्भर

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षीया यामकुमारी पुन परम्परागत तानबाट कपडा बुनेर आत्मनिर्भर बन्नुभएको छ।
परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाउनुभएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्विटर लगायतका कपडा बुनेर विक्री गर्नुहुन्छ । उहाँले एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु ७ हजारसम्ममा बिक्री हुने गरेको बताउनुभयो । उमेरले वृद्ध अवस्थामा पु¥याएपनि पुनको दैनिकी भने सक्रिय छ । पुनले बुन्नुभएको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।

फुर्सदको समयलाई बुनाइमा लगाउँदै आउनुभएकी पुनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । ‘‘मेरो अरू स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’’–पुनले थप्नुभयो ।
झोला , गलबन्दी, स्विटर लगायतका सामान घर गाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने पुनको भनाई छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधि मार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको बताउनुभयो ।
पुनले आफ्नो सीपको व्यावसायिकीकरण सँगै २०५२ सालमा स्थापना भएको स्थानीय गोदावरी आमा समूहलाई उहाँले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आउनुभएको छ । उहाँले समूहकै तरकारी खेती र पुर्ख्यौली पेशा संरक्षणमा अगुवाइ गर्दै आउनुभएको ।









प्रतिक्रिया राख्नुहोस्