संविधान संशोधन आवश्यक : जसपा अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा जसपा नेपालको आयोजनामा विधान अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सङ्घीयतालाई संविधान संशोधन मार्फत प्रदेशको संरचनालाई सच्याउनुपर्ने, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाई सङ्घीयताको प्रत्याभूति जनतालाई दिलाउनका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभयो ।
प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका जसपा अध्यक्ष यादवले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि वर्तमान संविधान संशोधन र परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
शासकीय स्वरूप र निर्वाचन प्रणाली र राज्यको पुनर्संरचनामा सुधार नभए र पहिचानलाई मान्यता नदिए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अध्यक्ष यादवको भनाई छ ।
उहाँले तुरुन्तै नयाँ संविधान नबनाई सुधार गर्ने प्रयासतर्फ रहेको र नसुध्रिए त्यसपछि नयाँ विकल्प खोज्ने समेत पनि बताउनुभयो ।
विगतका आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको र संघीय लोकतान्त्रिकलाई जोगाउन समावेशिता र धर्मनिरपेक्षतालाई बचाउनुपर्नेमा उहाँले जोड दिनुहुँदै मौलिक अधिकार र नागरिक स्वतन्त्रतालाई रक्षा गर्दै परिवर्तनको गतिलाई अगाडी बढाउनुपर्ने दायित्व काँधमा आएको बताउनुभयो ।
विधान अधिवेशनमा जसपाका संघीय परिषद्का अध्यक्ष अशोक राई र जसपाका नेताहरू राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोबिन्द चौधरी, रेनु यादव लगायतले विधान अधिवेशनबाट पार्टीले इतिहास रच्ने र चलायमान बनाउनेतर्फ अग्रसर हुने बताउनुभयो ।
पार्टीको विधान अधिवेशन तीन दिनसम्म चल्ने छ । अधिवेशनमा मुलुकभरबाट एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्