सेवा प्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जको आज निरीक्षण पश्चात् आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले अस्पतालमा आउने सेवाग्राहीका समस्यालाई सम्बोधन गर्दै सकारात्मक सोचका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।
अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवं विज्ञ जनशक्तिका बाबजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमर्जेन्सी विभाग, ज्येष्ठ प्रहरी अतिथि गृह, पूर्व प्रहरी अधिकृत प्रतीक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडी, मेस, डायलायसिस, विभिन्न वार्ड लगायत विभिन्न युनिटको अवलोकन भ्रमण गर्नुभएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि सङ्गठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्