‘मधेश प्रदेशका पचास प्रतिशत आमाले शिशुलाई स्तनपान गराउँदैनन्’
जनकपुरधाम । मधेश प्रदेशको पोषण अवस्थामा सुधारका लागि मधेश प्रदेशका स्वास्थ्यकर्मीले प्रतिबद्धता जनाएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना प्रदेश स्तरीय दुई दिने पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्बन्धि कार्यशालाको समापनमा सहभागी स्वास्थ्य क्षेत्रका अगुवाहरूले बालबालिकालाई कुपोषित हुनबाट रोक्न सबै प्रकारका उपाय अबलम्बन गर्ने प्रतिबद्धता गरेका हुन् ।

प्रदेशमा करिब १० हजारको सङ्ख्यामा कुपोषित बालबालिका रहेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा. प्रमोद कुमार यादवले जानकारी दिनुभयो । मधेश प्रदेशमा खाना खाने आनीबानी परिवर्तन भएको र करेसाबारी लोप हुँदै गएकोले गर्भधारणका बेला महिलाहरूलाई पोषणयुक्त खानाको अभाव हुने गरेको उहाँले बताउनुभयो ।
यसपटक प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधारका लागि छुट्टै मन्त्रालय गठन गरी कुल बजेटको १२ प्रतिशत बजेट मन्त्रालयका लागि विनियोजन गरेकाले स्वास्थ्यमा सुधार हुने आशा यादवको छ ।

प्रादेशिक अस्पतालका निर्देशक एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितले मधेश प्रदेशमा ५० प्रतिशत महिलाले शिशुलाई स्तनपान नगराउने गरेका कारण पनि बालबालिका कुपोषणको शिकार बन्ने गरेको उल्लेख गर्दै उनीहरुलाई स्तनपानका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्रले मधेशमा पोषिलो खानेबारे खानका लागि आमा र बालबालिकालाई चेतना दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले जङ्क फुडको प्रयोग पूर्ण रुपमा निषेध तथा सम्बन्धित पालिकाहरूसँग समन्वय गरी प्रदेशलाई पोषणयुक्त प्रदेश बनाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्