मधेश प्रदेश सरकारले आज बजेट ल्याउँदै, चालु वर्ष भन्दा १२ अर्बले कम

जनकपुरधाम । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सहितको बजेट ल्याउँदै छ ।
प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने भएको र यसको तयारी पुरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
देशका सबै प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको छ । मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले करिब ३५ अर्बको बजेट ल्याउन लागेको जानकारी दिनु भएको छ ।
यस पटक प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन उहाँले जानकारी दिनु भएको छ । संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरेर पठाएकाले यस पटक प्रदेको बजेट घट्न लागेको छ ।
सरकारको बजेट कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, वन तथा वातावरण र सिचाई प्रमुख प्राथमिकतामा राख्ने गरि बजेट ल्याउन लागेको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाइलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनु भएको छ ।
प्रदेश सरकारको प्रादेशिक गौरवका योजनालाई निरन्तरता दिने भएको छ । उहाँले टुक्रे योजना नआउने र गत वर्षका अधुरा योजनाहरूमा कम रकम विनियोजन भएकोमा नयाँ योजनामा पहिलेको परिपाटी कायम नगरी परियोजना पूरा हुनेगरि रकम विनियोजन गरिन लागेको बताउनुभयो ।
मधेस प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । यस वर्ष प्रदेशमा पनि राजश्व कम उठेको र सङ्घले पनि कम अनुदान दिएकाले करिब १२ अर्बले कम आउन लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्