ढकायो साग खोज्न जङ्गल चाहर्दै बागलुङका स्थानीय

ताराखोला बागलुङ । ताराखोलाको माथिल्लो भेगमा पाईने ढकायो साग खोज्दै अहिले स्थानीय महिलाहरू जङ्गल चाहर्न थालेका छन् ।
उच्च पहाडी स्थानमा पाइने ढकायो काट्न बिहान सबेरै दिउँसोको खाजा बोकी जङ्गल जाने गरेको स्थानीय केशरी बिक बताउनुहुन्छ । लामो दुरी हिँडेर फलेङ, खिउँ, गोठरी जङ्गलमा ढकायो खोज्ने जाने गरेको उहाँको भनाई छ ।
ढकायोको साग काटेर, कुटेर सुकाउने गरेको र केही समय सुकाएर खाने गरेको स्थानीय भावना पाईजाले बताउनुभयो ।
ढकायोको सागलाई गुन्द्रुक बनाएर देश विदेश रहेका आफन्तहरूलाई कोसेलीको रुपमा पनि पठाइन्छ । विश्वका विभिन्न देशमा पुगेका घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने समेत गरेका छन् ।

ढकायोबाट बनेको गुन्द्रुक स्वादिलो, तागतिलो, पोषिलो र स्वास्थ्यकर हुन्छ । यो नेपाली खानामा अनिवार्य बनाउँदा खानाको स्वाद अझै विशिष्ट हुने र पाहुनाले ढकायो साग खोज्ने होटल व्यवसायी गण्डकीका अध्यक्ष अर्जुन चोखाल बताउनुहुन्छ ।
ढकायोलाई व्यावसायिक रुपमा उत्पादन गर्नुपर्ने पनि बहस सुरु भएको छ । ताराखोलाको ढकायो गुन्द्रुक देश तथा विदेशका विभिन्न बजार माग बढेको छ । ढकायोको सागबाट बनेको गुन्दुकलाई रु एक हजार दुई सयदेखि दुई हजार सम्ममा बिक्री हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्