भरतपुर महानगरपालिकामा स्वास्थ्य चौकीको स्थापना

चितवन । महानगरपालिका वडा नम्बर २४ मा धुब्र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । उक्त स्वास्थ्य चौकीको महानगरपालिकाका प्रमुख रेनु दाहालले गर्नुभयो ।
उद्घाटनपछि दाहालले महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरूमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिनुभयो । उहाँले भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुर्याइने प्रमुख दाहालले बताउनुभयो ।
यो सँगै भरतपुर २४ का स्थानीयहरू प्राथमिक उपचार गर्न सदरमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ ।
यसअघि यहाँका स्थानीयहरू छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने अवस्था थियो । यस अस्पताललाई थप स्तरोन्नति गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।

महानगरपालिका प्रमुख दाहालले सङ्घीयताको मर्मअनुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले भरतपुर २४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाई, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्नति, मेसजाली फाउण्डेशन, पशु चिकित्सालयलगायतका धेरै काम भएको समेत उहाँले जानकारी दिनुभयो ।
यसै बीच भरतपुर २४ कै छेथरलिङ बौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्