तपाईँ सुन्दै हुनुहुन्छः

सत्ति भन्सार कार्यालयमा व्यापारीद्वारा तालाबन्दी

टीकापुर, कैलाली । कैलालीस्थित सत्ति भन्सार कार्यालय खक्रौलामा टीकापुर उद्योग वाणिज्य सङ्घले धर्नासहित तालाबन्दी गरेको छ । सत्ति भन्सार कार्यालयमा ल्याबसहितको क्वारेन्टाइन हुनुपर्ने माग राख्दै सङ्घले मङ्गलवार भन्सार कार्यालयमा एक घण्टा धर्नासहित तालाबन्दी गरेको हो । 

सत्ति भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा टीकापुर क्षेत्रका व्यापारीलाई धनगढी र नेपालगन्ज भएर सामान ल्याउनु पर्ने बाध्यता रहेको भन्दै उद्योग वाणिज्य संघ भन्सार कार्यालयमा क्वारेन्टाइन हुनुपर्ने माग राखी आन्दोलनमा उत्रिएको छ । 

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले सत्ति भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना हुनु पर्ने आफ्नो मुल मुद्दा भएको बताउँदै आफ्नो माग पुरा नभए अन्य सङ्घर्षका कार्यक्रम पनि अगाडी बढाउने बताउनुभयो । 

संघका पूर्व अध्यक्ष नवराज रावलले २०७५ सालमा सत्ति भन्सार कार्यालयलाई मुल भन्सारका रुपमा स्थापना गरिए पनि अहिलेसम्म क्वारेन्टाइन नहुँदा यहाँका उद्योगी व्यवसायीलाई निकै समस्या भइरहेको बताउँदै आफ्नो माग पुरा नभएसम्म जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।

सङ्घले यसअघि भन्सार कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय टीकापुरमा ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउँदा पनि आफ्ना मागका बारेमा कुनै सुनुवाई नहुँदा सङ्घले नारा जुलुस गर्दै मङ्गलवार भन्सार कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button