तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका ग्रामीण बस्तीहरू अझै दियालो र सोलारकै भरमा 

सल्यान । सबै नागरिकको घर घरमा बिजुली पुर्‍याउने सरकारी लक्ष्य भएपनि सल्यानका ग्रामीण बस्तीहरू अझै दियालो र सोलारकै भरमा छन् । 

बिजुली नपुगेका र भौगोलिक रूपले समेत विकट गाउँ बस्तीका नागरिक दियालो र सोलारको भरमा दिन गुजार्न बाध्य भएका हुन । 

१० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।  

पालिकाभित्रका केही वडा विद्युतीकरण भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भर पर्ने गरेको कुमाख गाउँपालिका ७ तुरतुरेका स्थानीय राम बहादुर चलाउनेले बताउनुभयो । विद्युतीय पहुँचभन्दा टाढा रहेका बस्तीमा अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रम मार्फत सोलार प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा सहजै बिद्युत् आउने सम्भावना नभएपछि आफूहरूलाई दियालो भन्दा सोलार नै उपयुक्त लाग्छ  ।”

लामो समय सम्म दियालोको भरमा रात बिताउँदै आएका स्थानीयले अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रममार्फत सोलार पाएपछि सहज भएको अर्का स्थानीय सोभी कुमारी वलीले बताउनुभयो । उहाँले आफूहरूले सोलारबाट उज्यालो भएपनि विद्युत् बिस्तार नभएकै कारण गाउँमा पठन पाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको समस्या भएको बताउनुभयो ।  

सल्यानका कतिपय स्थानीय तहका वडामा त विद्युत् नहुँदा नागरिकलाई दैनिकी चलाउन मात्रै समस्या नभई प्रशासनिक काममा पनि बाधा पुग्ने गरेको छ । 

ग्रामीण विद्युतीकरणका लागि यहाँका स्थानीय तहले काम त गरिरहेका छन् । तर छरिरएर रहेका बस्तीमा विद्युतीकरण पुर्‍याउन समस्या भएको कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष डम्बर शाहीले बताउनुभयो । उहाँले तत्कालै बिद्युत् पुर्‍याउन नसक्ने बस्तीहरूमा सोलार बिजुली उपलब्ध गराइएको बताउनुभयो  । 

उहाँले यस बर्ष मात्र २ सय घर परिवारलाई सोलार वितरण गरेको बताउनुभयो । सबै नागरिकलाई बिद्युत् पुर्‍याउनको लाग आगामी आर्थिक बर्षभित्रै काम सुरु गरिने कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले बताउनुभयो । उहाँले केही ठाउँमा टेण्डर भइसकेको र केहीमा सुरुवाती चरणमा रहेको बताउनुभयो । 

सल्यानका ६९ प्रतिशत नागरिक मात्र बिजुलीको पहुँचमा छन् । ग्रामीण विद्युतीकरणका लागि भन्दै सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आइरहेको छ ।

विद्युत् विस्तारका लागि ठेक्का सम्झौता भएका ठाउँमा ठेकेदारले काम नगर्दा पनि विद्युतिकरणमा ढिलाइ हुने गरेको छ । जसका कारण दुर्गम बस्तीहरू अझै पनि दियालो र टुकीको भरमा अँध्यारो छल्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button