वैदेशिक रोजगारीबाट फर्केकाको पुनः स्थापनामा ध्यान दिन आग्रह
काठमाडौँ । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनः स्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनः स्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन, कानून, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न माग गरेको हो ।
रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न आग्रह गर्दै फेडेरेसनले वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरूको सीप, पूँजी र प्राविधिक ज्ञानको पहिचान सहितको श्रमिक तथ्याङ्क बैङ्क स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारलाई सुझाएको छ ।
फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सरकारी स्तरबाट बर्सेनि रिटर्नीको नाउँमा रकम विनियोजन हुने तर सम्बन्धित पक्षसँग नपुगी कार्यान्वयन निकाय तथा बिचौलियामार्फत विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृत्तिको अन्त्य गरी त्यस्तो रकम बिउ पूँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
विदेश जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त रिटर्नीको सहभागिता अनिवार्य गनुपर्नेमा जोड दिँदै फेडेरेसनले रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रम रिटर्नी प्रतिनिधिको सहभागिताको सुनिश्चितता गर्न माग गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्