विदेशबाट फर्किएर व्यावसायिक ड्रागन फ्रुट खेती

सल्यान । परदेशमा काम गर्दा पैसा मात्र कमाइँदैन । ज्ञान, सीप र अनुभव पनि बटुलिन्छ । त्यही ज्ञान, सीप र अनुभव स्वदेशमा गरिखाने साधन बन्छ । मलेसिया ७ वर्ष बिताउँदा बटुलेको अनुभव सल्यानको कालीमाटी गाउँपालिका ४ डिमुरे खारखोलाका ४० वर्षीय भूम बहादुर घर्तीका लागि यस्तै भएको छ ।
मलेसियामा फलफूल ओसारपसार सम्बन्धी काम गर्नु भएका घर्तीले त्यहाँको अनुभव सँगालेर स्वदेश फर्किएर ३ रोपनीमा क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नु भएको छ । ७वर्ष मलेसिया बिताउनु भएको घर्तीले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गर्दै वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नु भएको हो । । घर्तीले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले ३ रोपनी जग्गामा ३ सय ड्रागन फ्रुटका बिरुवा रोप्नु भएको छ ।
केही बाँझो र केही अन्न उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेको उहाँको भनाई छ । गत वर्ष लगाएको बिरुवा हलहली बढ्दै आधा बिरुवा फुल्न थाले पछि थप उत्साहित बनाएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो बिरुवा रहर लाग्दो रूप हुर्किएपछि मलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।
विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर यो खेती सुरु गरेको घर्ती बताउनु हुन्छ । दाङबाट बिरुवा ल्याएर खेती सुरु गरेको उहाँको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उहाँको अनुभव छ । उहाँले भन्नु भयो सुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ, गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।
घर्ती यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क हुनु हुन्छ । अहिले यसको बजार ६ सय देखि ८ सय किलोसम्म रहेको छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने घर्तीले बताउनुभयो । वस्तुभाउ पनि पालेकाले मलको अभाव नहुने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्