तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल–वसन्तपुर केबलकार सञ्चालनमा

रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेशकै पहिलो केबलकारको रुपमा रहेको यो केबलकार आइएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो । २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

कुल ५ अर्ब रुपैयाँ लागतमध्ये पहिलो चरणमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साँढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।

१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, स्व. लालप्रसाद बस्याल, भैरहवाका नारायणप्रसाद उपाध्याय लगायतको समूहले परिकल्पना गरेर अघि बढाएको आयोजना वनसम्बन्धी कानूनी जटिलता र पूँजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न नसकेको अवस्थामा आइएमइ ग्रुपले लगानी गरेपछि अगाडि बढेको हो ।

तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यावसायिक घराना आइएमइ ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।

बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलब ६ किलोमिटर दुरीको छ । बटम स्टेशनबाट १२ मिनेटमा टप स्टेसनमा पुग्न सकिन्छ ।

एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालि बुटवल हिल्सका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।

केबलकारको टप स्टेशन वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । केबलकार सञ्चालनसँगै कामाख्या मन्दिर दर्शन गर्नेको चहलपहल बढेको छ ।

टप स्टेसनमा पाँचतारे होटेल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्राउने लक्ष्य रहेको अध्यक्ष ढकालको भनाइ छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार सञ्चालनमा ल्याइएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्र मात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने छ ।

लुम्बिनी केबलकार सञ्चालनले पाल्पाको वसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने निजी क्षेत्र तथा स्थानीयको विश्वास छ ।

सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आइएमइ ग्रुपको यो तेस्रो केबलकार हो । यसअघि चन्द्रागिरि र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button