तपाईँ सुन्दै हुनुहुन्छः

‘पाल्पा गोल्ड कप’ भोलिबाट, उद्घाटन खेलमा पाल्पा ११ र लिस्नु युवा क्लब रुपन्देही भिड्ने 

पाल्पा । कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदै छ ।  

उद्घाटन खेलमा पाल्पा ११ र रुपन्देहीको लिस्नु युवा क्लब बीच पहिलो खेल हुने भएको छ । 

आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको लक्की ‘ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत पाल्पा र रुपन्देही भिड्ने भएका हुन  । 

पाल्पाको तासनेन टुँडिखेल मैदानमा भोलि एक कार्यक्रमका बीच दिउँसो साढे २ बजे प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । 

प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् । 

यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडाँै, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् । 

समूह ‘ए’ बाट रोड्स रामपुर चितवन र गार्डेन पोखराबीच भएको खेलमा जित्नेले बीर गोर्खाली भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यस्तै, पाल्पा ११ र लिस्नुबीच भएको खेलमा विजेताले फोर ब्रदर्श नवलपुर (पश्चिम) सँग प्रतिस्पर्धा हुनेछ । 

समूह ‘बी’ मा पर्ने रुपन्देही ११ र २८ बिघा नवलपरासी (पूर्व) बीचको खेलमा जित्नेले स्याङ्जाको होराइजनसँग प्रतिस्पर्धा गर्नेछ । स्वयम्भु काठमाडौँ र बिष्णुपादुका पोखराबीचको विजेताले दि फेमस महिन्द्र दल गणसँग खेल्नेछ । ११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ । दिउसो साढे ३ बजेदेखि खेल सुरु हुने भने जेठ २७ गते शनिबार फाइनल खेल हुनेछ । 

प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ भने  उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button