मोरङमा १० करोडको लागतमा कृषि फर्म सञ्चालन

विराटनगर । रोजगारीका लागि विदेश जाने क्रम बढी रहेको बेला स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका ९ जना युवाहरूले १० करोडको लगानीमा कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।
मोरङको रंगेली नगरपालिका–१ स्थित ववियाविर्तामा जय श्रीराम एग्रो कृषि फर्म सञ्चालन गर्दै सामूहिक रुपमा युवाहरूले धान, तरकारी तथा केरा खेतीका साथै माछापालन तथा पशुपालन व्यवसाय शुरु गरेका हुन ।

३५ विघा क्षेत्रफल रहेको फर्ममा १८ विघा जग्गामा उन्नत जातको धानखेती, १० वटा पोखरीमा माछापालन व्यवसाय, तीन विघा जग्गामा ड्रागन फल तथा केरा खेती साथै एक हजार लोकल कुखुरा, एकसय ओटा खसी बाख्रा, १७ वटा गाई भैँसी पाडापाडी रहेको र मौसम अनुसारका तरकारी र घाँसखेती गर्ने गरेको फर्मका सञ्चालक तिर्थराज घिमिरेले बताउनुभयो । फर्ममा सिजनमा ४० जना बढी स्थानीयले रोजगारी पाउँदै आएका छन् ।

दुई वर्ष अघि शुरु गरिएको कृषीफर्मलाई कोशी प्रदेश सरकारले समेत अनुदान दिएको छ । प्रदेशको कृषि मन्त्रालयले ५० प्रतिशत अनुदान दिएपछि २४ लाख रुपैयाँको लागतमा गत वर्ष चार पाङ्ग्रे ढुवानीका साधन फर्मले खरिद गरेको छ । उक्त साधन खरिद गर्न मन्त्रालयले ९ लाख ८५ हजार रुपैयाँ अनुदान दिएको थियो ।
फर्म संचालनगर्न अहिले धौ धौ परेपछि वार्षिक एक करोड रुपैयाँ लगानीकर्ताले घरवाटै खर्च गर्ने गरेको र आगामी वर्षदेखि फर्मबाट केही आम्दानी हुने घिमिरेले बताउनुभयो । अहिले आम्दानी नभएपनि केही वर्ष पछि राम्रो आम्दानी हुने भएकाले यो पेसाबाट आफूहरू सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो ।

घरपरिवार छाडेर पैसा खर्च गरेर अरूको देशमा गएर काम गर्नु भन्दा सानातिना कृषि व्यवसाय गर्नसके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने अनुभव कृषीकर्ममा लागेपछि आफूले पाएको घिमिरेको भनाई छ ।
युवाहरूले आफ्नो शक्तिलाई यही खर्च गरेर कृषि कर्ममा लाग्ने हो भने विदेशको भन्दा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ ।

उहाँका अनुसार कृषि व्यवसाय प्रति युवालाई आकर्षित गराउन कृषिमा सहज अनुदान, उत्पादित वस्तु विक्रीका लागी बजारको व्यवस्था, गुणस्तरीय मल,जग्गाको चक्लाबन्दी, माटो परीक्षण तथा सिँचाइको सहज व्यवस्थापन आवश्यक छ । यसो गर्न सके मुलुक कृषिमा आत्मनिर्भर बन्ने र युवाहरू विदेशिने क्रम कम हुने उहाँको भनाई छ ।
‘नेपाल सरकारले कृषिमा अनुदान दिए पनि अनुदानको रकम अझैपनि सही किसानसम्म पुग्न सकेको छैन’ उहाँले भन्नुभयो । त्यसका लागि स्थानीय तह र प्रदेश सरकारले ध्यान दिनु जरुरी रहेको उहाँको भनाई छ । सही रुपमा अनुदान वितरण हुने हो भने धेरै युवाहरू कृषिपेशामा जोडिने उहाँको बुझाई छ ।

ठुलो लगानी गरेर फर्म संचालनगर्दा पनि रंगेलीमा रहेका सहकारी संघ संस्थाहरूबाट अहिलेसम्म रासायनिक मल पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । समयमा मल नपाउँदा किसानहरूले भारतबाट आउने गुणस्तरहीन मल प्रयोग गर्ने गरेको र जसका कारण माटोको उर्भराशक्ती क्षीण बन्दै गएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्