तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा मिटर ब्याजीविरुद्ध २ सय ४९ उजुरी दर्ता

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजी विरुद्ध २ सय ४९ उजुरी दर्ता भएको  छ ।  

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै २ सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरव्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट २ सय ४९ उजुरी परेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यस्तो उजुरी  २ जना प्रतिनिधि विरुद्ध पनि परेको प्रशासनले जनाएको छ । 

प्रशासनका अनुसार इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोशी गाउँपालिका १ का वडा अध्यक्ष सोभित नारायण यादव विरुद्ध उजुरी आएको र त्यसमा आवश्यक कारबाहीको माग गर्दै उजुरी आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

ऋण सावाँ ब्याजसहित फिर्ता गरे पनि बनाएको कागज फिर्ता नदिएको र शोषण गरेको आरोप लगाएका छन् । प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूको बीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

सयकडा तीन देखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button