तपाईँ सुन्दै हुनुहुन्छः

आगामी नीति तथा बजेटमा रोजगार र उत्पादनलाई प्रथामिकताः मन्त्री शर्मा

जुम्ला।कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले उत्पादन वृद्धि र रोजगारी सृजना प्रदेश सरकारको प्रथामिकतामा रहेको बताउनुभयो । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका हुन् ।

सोमवार जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भन्नुभयो,“उत्पादन वृद्धि बिना रोजगारी सृजना सम्भव छैन । कर्णालीको शत्रु भनेकै बेरोजगारी र गरिबी हो । आगामी नीति कार्यक्रममा सरकारले गरिबी र बेरोजगारी अन्त्यका लागि रोजगार उत्पादन वृद्धिमै लगानी बढाइने तयारी छ ।”

कर्णाली प्रदेश सरकारले वर्षमा १० हजार युवालाई रोजगारी दिने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार कृषिमा युवा आकर्षित हुने नीति अबलम्बन गरी कृषि ऋणमा ब्याज अनुदान,सहुलियत ऋण,ढुवानीमा सहुलियत,बजार प्रवर्द्धन,उत्पादनका आधारमा अनुदान लगायतका कृषि नीतिमा जोड दिइने मन्त्री शर्माको भनाई छ ।

उत्पादन वृद्धि बिना कर्णालीको समृद्धि सम्भव छैन । मुलुकमा निम्तिएको आर्थिक सङ्कटले उत्पादन बुद्धिलाई जोड दिनुपर्ने पाठ सिकाएको छ । गत साता सुर्खेतमा सम्पन्न कर्णालीका ७९ वटै स्थानीयतहका प्रमुखको बैठकमा आगामी नीति र बजेटमा रोजगारी उत्पादन बृद्धिलाईनै प्राथमिकता दिने निर्णय भएको उल्लेख गर्नुभयो ।

किसानको मनोबल बढाउने,गोठालो भत्तालाई निरन्तरता दिने,जुम्लाको रैथाने बाली,मार्सी चामल,स्याउ,सिमि,ओखर,चिनो,कागुनो,फापर लगायतका बालीको उत्पादन वृद्धि,प्रशोधन बजारीकरणलाई सरकारले विशेष जोड दिने बताउनुभयो ।

अनुदानका नाममा बिचौलिया मोटाएको,झ्यालबाट योजना आउने प्रवृत्ति अन्त्य नभएको कृषिमा अपेक्षित बजेट कहिले विनियोजित नहुने समस्याको अन्त्य कहिले हुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा मन्त्री शर्माले आफ्नो कार्यकालमा विधि संवत् माग भई आएका आवश्यकतामुखी योजना मात्रै स्वीकृत हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्वकै उच्च स्थानमा मार्सी फल्ने छुमज्युलाको विकास,जुम्लाको स्याउ,मार्सीधान,ओखर सिमिको उत्पादन वृद्धि र बजारको सुनिश्चितता समेत सरकारले सहजीकरण गर्ने नीति ल्याउने बताउनुभयो । कर्णालीको बहुमूल्य जडीबुटीको प्रशोधनका लागि आगामी नीति कार्यक्रममा उद्योग स्थापना गर्ने समेत तयारी भएको छ ।

मन्त्री शर्माले थप्नुभयो,“कर्णालीलाई २०७५ मै अर्ग्यानिक प्रदेश घोषणा गर्ने नीति लिइएको छ । सोही अनुसार रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्ने । प्राङ्गारिक मल उत्पादनमा जोड दिने । जुम्लाको अर्ग्यानिक उत्पादनलाई ब्राण्डिङका रुपमा बजारमा लिन प्रदेश र स्थानीय तह बीच समन्वयनमा जोड दिइने छ ।”

विगतका सरकारले सडक र पूर्वाधारमा बढी लगानी गर्नु त्यतिबेलाको आवश्यकता थियो । अब उत्पादन बृद्धिनै लगानी बढाउनु पर्ने बेला आएको छ । यसमा प्रदेश सरकार र ७९ पटै स्थानीयतहको सहमति समेत भइसकेकोले कृषि क्षेत्रमा लगानी बढाउने तयारी छ ।
किसानको उत्पादन सुरक्षित गर्न अनिवार्य कृषि बाली बिमाको कार्यक्रमलाई समेत नीतिगत रूपमै व्यवस्था गरिने छ ।

बाँझीदै गएको जग्गालाई सिँचाई सुविधा पुराउन,बाँझो जग्गा खनजोत तथा उपभोग गर्ने,उत्पादनका आधारमा मात्रै अनुदान दिन लगायतका नीति बनाएर कर्णाली सरकारले अब रोजगारी सृजना तथा उत्पादन वृद्धिमा मात्रै लगानी बढाउने पहिलो प्राथमिकता रहेको मन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button