पर्यटकीय क्षेत्र सातदोबाटोमा बास बस्ने व्यवस्था नहुँदा पर्यटकलाई समस्या

रोल्पा । पर्यटकीय क्षेत्र सातदोबाटोमा बास बस्ने होटेल नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ ।
रोल्पाको पर्यटकीय क्षेत्र सातदोबाटोमा रोल्पा तथा बाहिरी जिल्लाबाट घुम्न जाने आन्तरिक र बाह्य पर्यटकहरूको लागि बास बस्ने उपयुक्त होटेलको व्यवस्था नहुँदा घुम्न गएका पर्यटकलाई समस्यामा पर्ने गरेका हुन ।

सातदोबाटोमा अन्य स–साना चिया, खाजा, नास्ता खाने पसल भएता पनि घुम्न गएका पर्यटकहरूलाई रात परेपछि बास बस्न लिवाङ अथवा सुलीचौर बजारमा रहेका होटेल खोज्दै बास बस्नुपर्ने बाध्यता रहेको छ ।
सातदोबाटो प्राकृतिक रमणीय स्थानका साथै जनयुद्ध स्मृति भ्यु टावर, रक गार्डेन, बाल उद्यानसँगै टावर डाँडाको नामले चिनिने स्थानमा रहेको रेडियो नेपाल, नेपाल टेलिभिजनको रिले प्रसारण केन्द्र, नेपाल टेलिकम, एनसेल, हेल्लो फोनको टावर, स्थानीय रिलेएफ.एम.जलजला, रोल्पा, मालश्रीको प्रसारण टावर, वर्ल्ड लिङ्क, सुबिसु, वयवसर्फर इन्टरनेट र भूकम्प मापन केन्द्र सातदोबाटोको वारिपारि डाँडामा भएकोले पनि पर्यटकहरू अवलोकन गर्न त्यहाँ पुग्ने गर्दछन् ।

खासगरी गर्मीयाममा चिसो हावापानी र जाडो याममा पारिलो घाम ताप्न पाइने भएकोले रोल्पाका र आसपासका जिल्लाहरूबाट व्यापारी, शिक्षक, विद्यार्थी, कृषक, कलाकार, सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी जनप्रतिनिधि त्यहाँ पुग्ने मुख्य पर्यटकहरू हुन् भने नेपाल बाहेक विदेशी नागरिकहरू पनि घुम्न मनोरञ्जन लिन सातदोबाटोमा पुग्ने गर्दछन् ।

बनमा पाइने काफल, ऐँसेलु, चुत्रा, घँगारुलगायत फल खान, लालीगुराँससँगै अन्य विभिन्न प्रजातिका फुल पाइनुका साथै वारिपारि देखिने भिन्न आकृतिका गाउँका घर, प्राकृतिक हरियाली बन जङ्गल, दन्तेलहर झैँ देखिने हिमशृङ्खला हेर्न, वनभोजको लागि उपयुक्त ठाउँ भएकोले मानिसहरू पर्यटकीय क्षेत्र सातदोबाटोमा आउने गर्दछन् ।









प्रतिक्रिया राख्नुहोस्