तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिमा सबै नागरिकको पहुँच पुर्‍याउने गरी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिमा सबै नागरिकको पहुँच पुर्‍याउने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मन्त्रालयले  आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले हरेक क्षेत्रमा सूचना प्रविधिको सुरक्षित प्रयोग बढाएर व्यक्तिको जीवन रूपान्तरणदेखि मुलुकको आर्थिक समृद्धि गर्न सम्भव छ भन्ने कुरामा सरकार दृढ रहेको बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालको आर्थिक समृद्धि र विकासका साथै रोजगारी सिर्जना गर्नका लागि सूचना प्रविधिको विकास र विस्तारमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

मुख्य सचिव शंकरदास बैरागीले हाम्रो जस्तो मुलुकमा विकास र समृद्धिका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा गरेको प्रगति उल्लेख्य रहेको बताउनुभयो । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाइ सबैमा पहुँच पुर्‍याउन डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नयाँ प्रविधिको प्रयोग गरी निजी क्षेत्रले उत्पादनमा वृद्धि गरेको बताउनुभयो । 

कार्यक्रममा सूचना प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ  । 

यस अवसरमा नेश्नल आइसिटी एक्सिलेन्स अवार्डबाट सरकारका पूर्व सहसचिव  विरेन्द्रकुमार मिश्र र नेश्नल आइसिटी एक्सिलेन्स अवार्ड महिलातर्फ प्राध्यापक तिमीला यमी थापालाई रु एक लाख नगदसहित सम्मान पत्रबाट सम्मानित गरिएको छ ।

त्यसैगरी नेश्नल आइसिटी इनोभेस्नल अवार्डबाट प्रिक्सा टेक्नोलोजीलाई रु एक लाख नगद र सम्मान पत्रले सम्मानित गरिएको छ । 

नेश्नल आइसिटी अवार्ड पब्लिक सेक्टरतर्फ सर्वोच्च अदालत र नेश्नल आइसिटी अवार्ड प्राइभेट सेक्टरतर्फ इन्फो डेभलपर प्रा.लि र गर्भर्नेन्स अटोमेसन सोलुसन प्रालिलाई  प्रमाणपत्रले सम्मान गरिएको छ । 

यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सूचना प्रविधि आकस्मिक समूहको पनि शुभारम्भ गर्नुभयो । 

सूचना प्रविधिमा सबै नागरिकको पहुँच पुर्‍याउने गरी काम गर्न सरकार प्रतिबद्ध : मन्त्री शर्मा (भिडियो)

प्रतिक्रिया राख्नुहोस्

Back to top button