तपाईँ सुन्दै हुनुहुन्छः

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

गैँडाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केबलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिन सक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।” 

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अप्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले परिणाम न निस्किँदासम्म आफूले  धेरै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निराशा बाँड्ने काम रोक्नु पर्छ ।” सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहदानी र लाइसेन्समा सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो । 

विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो । पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उहाँले अझ बढाउने तयारीमा सरकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”  

बैङ्क ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उहाँले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्ण हुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईँहरूको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उहाँले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताउनुभयो । अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास  परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उहाँले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पुर्याउने उहाँको योजनाको प्रशंसा गर्नुभयो ।  मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताउनुभयो ।

उहाँले धार्मिक, संस्कृति पर्यटन प्रवद्र्धनका दृष्टिकोणले र ऐतिहासिक सांस्कृतिक सम्पदालाई जनताको आवश्यकतासँग जनताको जीवन र सम्बृद्धिको आकाङ्क्षासँग जोड्ने परियोजनाका रुपमा यसलाई आफूले लिएको बताउनुभयो । यी परियोजना निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहरण भएको उहाँले बताउनुभयो । 

मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्त्वको चर्चा गर्दै उहाँले भन्नुभयो, “आज केबलकारको उद्घाटन गर्दै गर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाऊँ जाऊँ भन्ने क्षेत्र हुन पुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटि मौलाकालिका जानै पर्छ ।” यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटीय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उहाँले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । “यो अत्यन्तै पुरानो धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्त्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।” मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पुर्‍याउने उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रतिनिधिसभा सदस्य प्रा डा शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताउनुभयो । “देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुनसकेको छैन”, प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भन्नुभयो, “यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू ।” भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवेणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उहाँले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ति भइसकेको र त्यसका लागि बजेट पार्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो । स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब रु दुई अर्ब रहेको केबलकारका अध्यक्ष ढकालले बताउनुभयो । 

यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उहाँले केबलकारको अपर स्टेसनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहनुभएका ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताउनुभयो । 

उहाँले नेपालका सातवटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । “बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो ।” 

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा ९गोन्डला० रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button