संसदीय सुनुवाई समितिमा रहने राष्ट्रिय सभाका सदस्यहरूको नाम मनोनयन

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले संघीय संसद्को संयुक्त समिति सुनुवाई समितिमा राष्ट्रिय सभाबाट रहने सदस्यहरूको नामलाई सहमति गरेको छ ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली अनुसार सुनुवाई समितिमा मनोनयन गर्नुभएको राष्ट्रिय सभाका सदस्य जगप्रसाद शर्मा, देवेन्द्र दाहाल, रमेशजंग रायमाझीको नामलाई सभाले सहमति जनाएको हो ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री र राज्यमन्त्रीको नियुक्ति र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनु भयो ।
यसैगरी अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सदनमा जानकारी गराउनुभयो ।
बैठकको सुरुमा सांसदहरुले सङ्घीयता कार्यान्वयन, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सासदहरुले पार्टी व्यवस्था र शासन व्यवस्थामा सुधार हुन आवश्यक रहेको, समानुपातिक समावेशीलाई प्रत्यक्ष निर्वाचित व्यवस्थामा ढाल्नु पर्ने, सुशासनको प्रत्याभूति हुने गरी भ्रष्टाचार न्युनिकरण अभियान थाल्नु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले नयाँ शैक्षिक सत्र शुरु भइसक्दा समेत सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको भन्दै समयमा नै सबै विद्यार्थीको हात पाठ्यपुस्तक पुर्याउन माग गर्नुभयो ।
सांसदहरुले सङ्घीयता केन्द्रमुखी हुँदा समस्या सिर्जना भइरहेकाले प्रदेश र स्थानीय तहलाई स्रोत र दायित्व दुवै दिनु पर्ने बताउनुभयो ।
उहाँहरूले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतमा भइरहेको र उहाँको उपचार नेपालमा किन हुन नसकेको हो भन्ने विषयमा संसद्लाई जानकारी गराउन माग समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्