प्रतिनिधि सभाबाट “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” प्रस्ताव स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” प्रस्ताव स्वीकृत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले भ्रष्टाचारलाई न्यूनीकरण गर्न कानुन कार्यान्वयनमा जोड दिनुभयो ।
सांसदहरुले मुलुकमा विकास हुन नसक्नुको ठूलो कारण भ्रष्टाचार भएकाले यो विधेयकले भ्रष्टाचार निवारण गर्न सक्नुपर्ने बताउनुभयो ।
सांसदहरुले संस्थागत रुपमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न सके भ्रष्टाचार न्यूनीकरण भएर जाने पनि बताउनुभयो ।
विधेयकमाथि उठेका विषयमा जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार निवारण ऐनलाई बलियो बनाउँदै भ्रष्टाचार निर्मूल पार्न सकिने बताउनुभयो ।
मन्त्री शर्माले मुलुकको शासकीय स्वरूप परिवर्तनसँगै भ्रष्टाचारको स्वरूप पनि बदलिएको र भ्रष्ट्राचारमुक्त मुलुक निर्माणका लागि यो ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शर्माले कानुन निर्माणले मात्र भ्रष्ट्राचार निर्मूल हुन नसक्ने भन्दै समाजका सबै अवयवहरूको सक्रियता र प्रतिबद्धता हुनुपर्ने धारणा राख्नुभयो ।
यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउनुभयो ।
सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट निष्कासन गरेको संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराउनुभएको हो ।
सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभाको उक्त स्थान रिक्त रहेको ब्यहोरा समेत सभालाई गराउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक वैशाख १३ गते बुधबार दिनको ३ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्