बाराको सीमावर्ती नाकाहरू सुनसान

बारा । बारा क्षेत्र नं. २ मा जारी मतदानका क्रममा बाराको सीमावर्ती नाकाहरू सुनसान देखिएका छन् ।
जिल्लामा भारी मात्रामा प्रहरी परिचालन गरिएको छ । सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
नेपाल भारत सीमावर्ती क्षेत्र बिहीबार राति १२ बजेदेखि दुवै तर्फबाट आवागमन बन्द गरिएको छ । बारा क्षेत्र नं.२ मा सुरक्षा चुनौती रहेका कारण जनपद, सशस्त्र र सेना गरी करिब ३ हजार प्रहरी फिल्डमा परिचालन गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । अति संवेदनशील मतदान स्थलमा १२ देखि ३० जना प्रहरी र सामान्य मतदान स्थलमा १० जना प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।

मतदानपछि विभिन्न बुथहरूबाट मतपेटिका सङ्कलनका लागि १७ वटा बस र ट्रकहरूको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आज बेलुका सात बजेसम्ममा मतपेटिका ल्याइसक्नुपर्ने लक्ष्य रहेको बोगटीले जानकारी दिनुभयो । मत पेटिका ल्याइसकेपछि बस्ने सर्वदलीय बैठकले कति खेर मतगणना गर्ने समय निर्धारण गर्ने बताउनुभयो ।
मतगणना कलैया उपमहानगरपालिकाको गङ्गापुर स्थित शिक्षा तालिम केन्द्रमा हुने पूर्व निर्धारण भइसकेको छ ।










प्रतिक्रिया राख्नुहोस्