तपाईँ सुन्दै हुनुहुन्छः

छोटो अवधिमा वन, उद्योग तथा पर्यटनको विकासमा काम गरेको छु : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले मन्त्रालय सम्हालेको अवधिमा गरेको कामकाज सार्वजनिक गर्नु भएको छ ।  

मन्त्री यादवले २०७९ माघ २४ देखि २०८० वैशाख ७ गतेसम्म (७३ दिन) मा आफूले गरेका महत्वपूर्ण कार्यहरू आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्नु भएको छ । 

मन्त्री यादवले २१ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयले गर्नु पर्ने कामहरू क्रमशः पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले मन्त्रालयको कार्यप्रगति अन्तर्गत प्रदेशका ८ वटै जिल्लाका वन क्षेत्रभित्र विगत वर्षदेखि ढलेर रहेका रुखहरू (काठ/दाउरा) सङ्कलन गरी सुरक्षित स्थानमा घाटगद्दि गरी काठ दाउरा आपूर्ति व्यवस्थापनको नीतिगत निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले प्रदेशमा औद्योगिकीकरणको प्रक्रियालाई गतिशील र सुदृढ गर्दै परम्परागत सीप र प्रविधिको प्रवद्र्धन गर्नुका साथै व्यावसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरू सिर्जना गरी देशको आर्थिक विकासमा योगदान पुर्‍याउन नयाँ स्थापना भएको उद्योग विभाग, वीरगंजमा  सञ्चालन सुचारु गरेको बताउनु भयो ।

मन्त्री यादवले प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार प्रदेश सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी सहज सरल रुपमा काठ दाउरा आपूर्ति÷बिक्री वितरण गर्न प्रदेशका ८ वटै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिका २४ जना पदाधिकारी मनोनयन गरी कार्य सञ्चालन गराएको जानकारी दिनु भयो । 

साथै वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार उद्योग क्षेत्रसँग सम्बन्धित संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची तथा संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको स्वीकृत गर्नेसम्मको अधिकार उद्योग विभाग, वीरगञ्जका महानिर्देशकलाई प्रत्यायोजन गरी कार्य सञ्चालन गराएको मन्त्री यादवले जानकारी दिनु भयो । 

उहाँले पर्यटन प्रवद्र्धन गर्ने क्रममा ठूला योजना अन्तर्गतका मिथिला माध्यमिकी परिक्रमाको मटिहानी पडावस्थलमा धर्मशाला निर्माण कार्यको शिलान्यास र पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका कारिकबाबा (परौलस्थान) मा पोखरी सौन्दर्यीकरण तथा स्तरोन्नति, पोखरीको डिलमा चारैतिर रेलिङ, लाईट, गोलघर निमार्ण कार्यको शिलान्यास गरी कार्य शुरुवात गरेको बताउनु भयो । 

पर्यटन विधेयक–२०७९ तयार गरी राय सुझाव/छलफलको क्रममा रहेको र प्रदेश वन नियमावली–२०७९ उपर पुनः समीक्षा गरी त्यो पनि स्वीकृतिको अन्तिम चरणमा रहेको पर्यटनमन्त्री समेत रहनु भएका यादवले जानकारी दिनु भयो । मन्त्री यादव माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेश सरकारमा रहनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button