तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज कारागारका एक कैदीको मृत्यु

सप्तरी । राजविराज कारागारमा एक कैदीको मृत्यु भएको छ । मानव बेचबिखन ओसारपसार मुद्दामा दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको बिहीबार राती मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ । 

यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोर कुमार रामले बताउनुभयो । 

छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना गरिएको मृतकका श्रीमती मञ्जुदेबी यादवले बताउनुभयो ।

शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताउनुभयो । 

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले ०७७ चैत ११ गते घरबाटै पक्राउ गरेको थियो । जिल्ला अदालतबाट ५ वर्ष कैद सजायको फैसला भएका उनी पक्राउ परेदेखि कारागारमा रहेका थिए ।

यो समेत गरी राजविराज कारागारका तीन जना कैदीको चैत यता मृत्यु भएको कारागार प्रशासनका जनाएको छ । यसअघि वैशाखमा ६९ वर्षीय पुरुषको र चैत महिनामा २४ वर्षीय युवकको मृत्यु भएको थियो । 

जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button