चितवनको विकासमा क्रान्ति आउने छ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै चितवनको विकासमा क्रान्ति आउने बताउनुभएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले काठमाडौँ–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताउनुभयो ।
यहाँका ठूला विकास निर्माणमा आफ्नो ध्यान पुगेको भन्दै उहाँले भन्नुभयो, “म अर्को जिल्लाको जनप्रतिनिधि भए पनि प्रधानमन्त्रीको हिसाबले विमानस्थल विस्तारको कुरा होस्, गौतमबुद्ध क्रिकेट रङ्गशालाको कुरा होस्, चाहे शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाउने कुरा होस्, चाहे नारायणी र राप्तीमा तटबन्धन निर्माण अगाडि बढाउने कुरा सबैमा मेरो ध्यान पुगेको छ ।”
सुकुम्बासी समस्या समाधान हुने प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले भन्नुभयो, “यसलाई गति दिइन्छ र पूर्णतामा पुर्याइन्छ ।” चितवनमा कृषिमा आधुनिकीकरण गर्न पर्याप्त आधार रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा पनि आफ्नो ध्यान गएको बताउनुभयो ।
लोकतन्त्र, गणतन्त्र, संविधानका निम्ति एउटा मौलिक पहिचानको जिल्ला भएको भन्दै उहाँले चितवनको अलग्गै पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि हालतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न दिनु हुँदैन ।”
रासस








प्रतिक्रिया राख्नुहोस्