कर्णालीमा विद्यालय सञ्चालन भएको दुई महिनापछि पुग्यो पाठ्यपुस्तक

जुम्ला । कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्लामा विद्यालय सञ्चालन भएको साढे दुई महिनापछि पाठ्यपुस्तक पुगेको छ । माघ २५ गतेबाट कर्णालीमा हिमाली जिल्लामा विद्यालय खुली सकेका थिए । तर सरकार विद्यालय खुलेसँगै पाठ्यपुस्तक नपठाई कर्णालीमा पनि वैशाखबाटै शैक्षिक शत्र सुरु हुने निर्णय गरेपछि कर्णालीमा विद्यालय सञ्चालन भएको दुई महिनापछि मात्र पाठ्यपुस्तक पुगेको हो ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा हरेक वर्ष फागुन महिनाबाट शैक्षिक शत्र हुन्छ । कर्णालीका जुम्ला,हुम्ला,मुगु डोल्पा,कालिकोट लगायतका जिल्लामा केही विद्यालय माघ २५ गते र अधिकांश विद्यालय फागुन पहिलो हप्ताबाटै सञ्चालन हुँदै आएका छन् ।
यस वर्षपनि कर्णालीका जुम्ला सहितका जिल्लामा फागुन पहिलो हप्ताबाटै शैक्षिक शत्र सुरु भएको थियो । तर शैक्षिक शत्र सुरुवात सँगै पाठ्यपुस्तक पुग्न सकेनन् । विगतका वर्ष जस्तै कर्णालीका विद्यार्थी रित्तै हात फागुन र चैत महिनामा विद्यालय जान बाध्य भएका थिए ।
शैक्षिक शत्र सुरु भएपनि कर्णालीमा पाठ्यपुस्तक नपुगेको विषयलाई लिएर आलोचना भएपछि तत्काल पाठ्यपुस्तक पठाउनुको सट्टा सरकारले कर्णालीमा पनि शैक्षिक शत्र वैशाखबाटै सुरु हुने निर्णय गरेको थियो ।
जुन निर्णयले कर्णालीका विद्यार्थी रित्तै हात दुई महिना विद्यालय जान बाध्य भए । तराईका जिल्लामा वैशाखबाट शैक्षिक शत्र सुरु हुन्छ । सरकारले तत्काल कर्णालीमा पाठ्यपुस्तक पुराउन नसकेपछि पहिलो पटक कर्णालीमा पनि शैक्षिक शत्र वैशाख १ गतेबाट सुरु हुने प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

जुन निर्णयका कारण नत कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्यो,नत विद्यालयनै बन्द गर्ने अवस्था रह्यो । रित्तै हात भएपनि जुम्लाका १ सय ८० वटै सामुदायिक विद्यालयका विद्यार्थी विद्यालय जाने र आउने गरेका थिए ।
चन्दननाथ माविका प्रधानाध्यापक टंक बहादुर महत भन्छन्,“बजारका विद्यार्थीले पनि रित्तै हात दुई महिना बिताए । सरकारले माघ पुसमै कर्णालीमा पनि वैशाखबाटै शैक्षिकशत्र सुरु हुने निर्णय गर्नु पथ्यो । तर फागुनमा विद्यालय खोलेर विद्यार्थी भर्ना गरिसकेपछि सरकारले निर्णय गर्यो । पछि विद्यालय बन्द गर्ने स्थिति पनि भएनन् । रित्तै हात भएपनि जेनतेन पढाउने काम गर्यौ ।“
चुनावमा मत पत्र समयमै पुग्ने कर्णालीमा पाठ्यपुस्तक कहिले समयमै पुग्दैन भनेर बर्सेनि आलोचना हुँदै आएको छ । तर सरकारले भने यसबाट कर्णालीमा विद्यालय सञ्चालन भएको दुई महिना पछि र आफ्नो निर्णय अनुसार बैशाखकोे सुरुवातमै पाठ्यपुस्तक पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्