देशको समृद्धिका लागि चरित्रवान् नेतृत्व आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रूपान्तरण र समृद्धिका लागि चरित्रवान् नेतृत्वको आवश्यक हुने बताउनुभएको छ ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उहाँले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महसुस गर्न सक्ने बताउनुभयो ।
“राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “चरित्रवान्, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रूपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उहाँले नेतृत्वको चरित्र निर्माणका लागि बौद्ध शिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले गृह मन्त्रालय अन्तर्गत ध्यानको शिविर नियमितरुपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
धम्मपूजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले धम्मवती गुरुमाको बुद्ध धर्मको प्रचारप्रसार र सामाजिक क्षेत्रमा योगदानबारे चर्चा गर्नुभयो । उपमेयर डङ्गोलले महानगर धर्म कीर्ति विहारको स्थापना र सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
विक्रम संवत् १९९१ मा ललितपुरमा जन्मिनुभएको भिक्षुणी धम्मवतीको रुपमा बौद्ध ज्ञान बाँड्दै आउनुभएको छ । धम्मवती गुरुमाले नेपालमा बौद्ध शिक्षाबारे सबैलाई जानकार गराउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा धर्म कीर्ति विहार संरक्षण कोषले ‘धम्मवती धम्म प्रशिक्षण परियोजना’को घोषणा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्