तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भुसाल

भक्तपुर । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुषालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०को उद्घाटन गर्दै मन्त्री भुषालले ५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दुःखद भएको बताउनुभयो ।

मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्रलाई सबल बनाउन, हामी स्वस्थ हुन मौलिक (अर्ग्यानिक) कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ ।”

हाम्रो देश नेपाल कृषि उत्पादनमा पछाडि भएको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालले बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सवले भक्तपुर सांस्कृतिक तथा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव सञ्चालन भएको हो ।

महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडाका साथै बाल उद्यान र दैनिक साङ्गीतिक प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

प्रवेश शुल्कमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सव २०८० साल वैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button