तपाईँ सुन्दै हुनुहुन्छः

विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन-२०२३ हुने 

भैरहवा । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर विकास र शान्तिका लागि बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ हुने भएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो ।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो। म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान ७ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडि समापन हुने महासचिव श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यो वर्षको प्रतियोगिता समापनसँगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ ।

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष दुवैले जनही १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद प्राप्त गर्ने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, उत्कृष्ट १० औँ स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो। पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको उहाँले बताउनुभयो। प्रतियोगिता गर्न ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button