तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि भ्रष्ट्राचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि भ्रष्ट्राचार नियन्त्रण अपरिहार्य रहेको बताउनुभएको छ ।

धनगढीमा आयोजित पूर्व बजेट छलफल कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार कठोर भएर अघि बढिरहेको बताउनुभयो । उहाँले भ्रष्ट्राचार नियन्त्रण कार्यलाई मुख्य कार्यभार बनाउँदै जनतालाई अनुभूति हुने गरी बजेट तथा योजना बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

प्रदेशको विकासका लागि आधार खडा गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाँले सरकारका गतिविधिले प्रदेशवासीलाई निराश बनाउने छैन भन्नेतर्फ सचेत रहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले आगामी बजेटमा स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकता दिने बताउनुभयो ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्राप्त सुझावलाई समेटेर बजेट निर्माण गरिने बताउनुभयो ।

आज र भोलि दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका मुख्य सचिव नारायण शर्मा दुवाडी, सचिव, स्थानीय तहका प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button