तपाईँ सुन्दै हुनुहुन्छः

सफल बन्दै  बालबालिकाको लागि सपना परियोजना 

बर्दिया  । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मुक्तिपुरकी ३२ बर्षीय रञ्जना चौधरीको अचेल बोली र भाषा मात्र हैन जीवन शैलीमै परिवर्तन आएको छ ।

थारु महिला उत्थान केन्द्र बर्दियाले प्लान इन्टर नेशनलको साझेदारीमा सञ्चालन गरेको ‘बालबालिकाको लागि सपना परियोजना’ गाउँमै पुगे पछि रञ्जना जस्तै गाउँका थुप्रै आमाको दैनिकी परिवर्तन भएको  हो । 

७ बर्षीय र २ बर्षीय  २ सन्तानकी आमा रहेको रञ्जनाले आफ्नो पहिलो सन्तानलाई खासै चाहिने जति सह्यार सुसार गर्न सक्नु भएन  । उहाँलाई त्यतिबेला बच्चा गर्भमा रहँदा र जन्मेपछि के कस्तो किसिमको व्यवहार गर्नु पर्छ भनेर थाहै थिएन ।गाउँमै ‘बालबालिकाको लागी सपना परियोजना’ आएपछि भने रञ्जनाले धेरै कुरा थाहा पाएको बताउनुहुन्छ ।  

‘पहिलो सन्तान हुँदा बच्चा पेटमा हुँदा वा जन्मे पछि कति वर्षसम्म कसरी हुर्काउने,कस्तो खाने कुरा खाने खुवाउने लगायत थाहा  थिएन तर बालबालिकाको सपना परियोजनाले आमाहरूलाई गाँउमा भेला गरेर सबै कुरा सिकाएपछि बच्चासँग कस्तो व्यवहार गर्ने, कस्ता खानेकुरा दिने, बोल्ने शैली कस्तो हुनुपर्ने जस्ता कुराहरूको जनकारी पाएको’ उहाँले बताउनुभयो ।  ‘पहिलो बच्चा हुँदा बच्चासँग गर्ने व्यवहारको जानकारी नभएकै कारण उसले राम्रो स्याहार सुसार पाउन सकेन तर तर बालबालिकाको सपना परियोजनाले आमाहरूलाई गाँउमा भेला गरेर सबै कुरा सिकाएपछि दोस्रो बच्चाले चाहिने जति सबै स्याहार सुसार पायो’ उहाँले भन्नुभयो ।  

रञ्जना आज भोलि गाउँका भेला एवं बैठकहरूमा सहजै खुलेर सबै कुराको जानकारी दिन सक्ने भइसक्नुभएको छ ।  छोरा छोरीलाई बिहानै देखि गर्नुपर्ने सम्पुर्ण कार्य उहाँका आफै गर्नु हुन्छ ।  घरका अन्य काममा सदस्येसमेत असल अभिभावकको भूमिका निर्वाह गरेको रञ्जना बताउनु हुन्छ ।

गाँउमा महिनाको दुई पटक  नव विवाहित आमा,नव विवाहित जोडी, हजुरबुबा आमा तथा ३ वर्ष मुनिका आमा बुवाहरूको भेला हुन्छ । जहाँ बच्चा गर्भमा रहँदा देखि जन्मेको ८ वर्षसम्म आमा बुवाले कसरी आफूलाई व्यवस्थापन गर्ने र बालबालिका सर्वाङ्गीण विकासका लागी के के गर्नुपर्छ भन्ने विषयमा छलफल हुने गर्दछ । बच्चाका अगाडी गर्नु पर्ने व्यवहार, बजारिया खानेकुराको प्रयोग, कति बेला के खानेकुरा दिने, के खाने, के नखाने, खेल्ने सामाग्री जस्ता सम्पुर्ण कुराहरूका बारेमा छलफल हुने गरेको रञ्जना बताउनुहुन्छ । परियोजनाको कारण गाउँमा आफु लगायत आफु जस्तै अन्य अभिभावक सबैको दृष्टिकोण परिवर्तन भएको उहाँ बताउनुहुन्छ  । 

सपना परियोजनाका संयोजक विनय कुमार थारु बिगत तीनबर्षदेखि बालबालिकाको सर्वाङ्गीण विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा कार्य गर्दै आइरहेको बताउनु भयो  । परियोजना लागू गरिएको ठाउँमा आएको परिवर्तन देख्दा आफूलाई गर्व लाग्ने गरेको उहाँ बताउनुहुन्छ । 

परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button