तपाईँ सुन्दै हुनुहुन्छः

सरकार बाँदर आतङ्क नियन्त्रण गर्न माग

भोजपुर । जिल्लामा बाँदर आतङ्क बढेको भन्दै नेकपा माओवादी केन्द्र भोजपुरले नियन्त्रणका लागि सरकारलाई दबाब दिएको छ । बाँदर आतङ्क रोक्न माग सहित केन्द्रले जिल्ला प्रशासन कार्यालय र स्थानीय तह मार्फत सरकार लाई दबाब दिएको छ । 

माओवादी केन्द्र भोजपुरले ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाब स्वरूप बाँदर आतङ्क नियन्त्रणका लागि एकै पटक ज्ञापनपत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समितिका सचिव बलभद्र राईले बिगत देखि नै बाँदर आतङ्क नियन्त्रणका लागि खबरदारी गरिएको भएपनि कतैबाट उचित काम हुन नसकेकाले यस पटक स्थानीय सरकार देखि लिएर केन्द्र सरकारलाई समेत ध्यानाकर्षण गराइएको बताउनुभयो । राईले भन्नुभयो, “बाँदरका कारण बस्तीहरू रित्तिने अवस्था आउँदा समेत नियन्त्रणका लागि कुनै चासो नदेखाइनु राज्यको गलत सोच हो, यो माग सम्बोधन नभएर बाँदर आतङ्क नियन्त्रणका लागि कृषक आफै सक्रिय हुने छन् ।”

बाँदर आतङ्कका कारण बाली नाली लगाउन समस्या भएको कृषकहरूको गुनासो रहेको छ । बाली खानेमात्र नभई बाँदरले घरमा समेत आएर पाकेको भातको भाँडो बोक्ने, मकैको थांग्राका साथै घर भित्रका अन्नपात र सामानहरूमा समेत क्षति पुगेपछि सरकार कै ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नेता राजेश खतिवडाले बताउनुभयो । पार्टी जिल्ला समन्वय समितिका सचिव राई सहितको टोलीले जिल्ला प्रशासन पुगेर सरकारलाई बुझाएको ज्ञापन पत्रमा आफूहरूले राखेको मागहरू सरकारी तवरबाट हल नगरिए स्थानीय कृषक बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने चेतावनी दिइएको छ ।

माओवादी केन्द्रले ज्ञापनपत्र मार्फत प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ । बाँदर आतङ्क नियन्त्रणका लागि संसदमा समेत पटक पटक कुरा उठ्दा समेत सरकारले यस तर्फ उचित निर्णय लिन नसक्दा स्थानीयहरू मारमा पर्दे आई रहेका छन् । 

“घर भित्र पकाएको भात खान पाइँदैन, आँगनमा मकैको थाङ्ग्रा राख्न पाइँदैन, खेतबारीमा कुनै पनि बाली राम्ररी लगाउन पाइँदैन, यस्तो हुँदा समेत सरकार मूकदर्शक बनेर कुनै समाधान नखोज्ने हो भने के हुन्छ हालत ।” स्थानीय कृष्ण प्रधानले भन्नुभयो, माओवादी केन्द्रले सरकारले दबाब दिनु किसानको हितमा छ । 

‘बाँदर आतङ्कका कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरू पलायन हुने सङ्ख्या दिनानुदिन दिन बढिरहेको छ । राज्यले गम्भीरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरी किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनै पनि गाउँ मानव बस्तीविहीन हुने कुरा निश्चित छ । आम किसानहरूको समस्यालाई मध्यनजर गरी तत्काल बाँदर नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दर्छौ’ सरकारलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ ।

सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्न समेत बाध्य हुने र उक्त अभियानको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र भोजपुर तयार रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button