संघीय शिक्षा ऐन चाडै जारी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्रै नभई देशको समृद्धि र विकासको महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।
पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षाको गुणस्तरमा जोड दिने राष्ट्रहरूले विकासका हरेक पक्षमा अब्बल प्रमाणित गर्न सक्नेमा जोड दिनुभयो ।

शिक्षाको विकास देश र जनताको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको बताउनुहुँदै उहाँले सरकारी शैक्षिक संस्थाको गुणस्तर विकासका लागि सरकारले यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्य गरिरहेको पनि जानकारी गराउनुभयो ।
शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले ऐनमार्फत शिक्षा क्षेत्रको विद्यमान समस्याको प्याकेजमै समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले विद्यालयले प्रविधिमैत्री कक्षा कोठामार्फत संस्कारयुक्त शिक्षा दिँदै आएको बताउनुभयो ।

त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, बागमती प्रदेश सांसद हरिप्रभा खड्गीलगायतले विद्यालय स्थापनाको ७७ वर्ष पुगेको अवसरका शुभकामना व्यक्त गर्नुभयो ।
यस अवसरमा सार्वजनिक शिक्षा सुधारमा भूमिका खेल्ने शिक्षकहरूलाई सम्मान प्रदान गरिएको छ ।
पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंको हीरक जयन्ती समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले गर्नुभएको सम्बोधन
सर्वप्रथम जहानियाँ राणाशासन कालका कारण अन्धकारमा रुमल्लिरहेको तत्कालीन नेपाली समाजलाई चेतनाको दीयो बाल्ने ध्येयका साथ वि.सं. २००३ सालमा स्थापित यस विद्यालयको हीरक जयन्तीको ऐतिहासिक अवसरमा सम्पूर्ण शिक्षक–कर्मचारीहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू एवम् सिङ्गो विद्यालय परिवारमा हार्दिक अभिवादनसहित शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा ठीक ७६ वर्षपहिले आजकै दिन संस्थापक प्रधानाध्यापक ईश्वरराज अर्याल र संस्थापक शिक्षकहरू आनन्दप्रसाद ढुङ्गाना, झङ्कबहादुर श्रेष्ठ, प्रेम बहादुर कंसकार, कृष्णबहादुर मानन्धर, रत्नमान मास्के र गौरीप्रसाद राजभण्डारी लगायतका शिक्षाप्रेमी एवं सामाजिक व्यक्तित्वहरूको पहलमा स्थापित यस विद्यालयले आफूलाई देशकै अब्बल विद्यालयको रूपमा स्थापित गरेको छ । ७६ वर्षको इतिहासमा विद्यालयले देशकै नेतृत्व गर्ने राजनीतिज्ञ, कर्मचारी, सामाजिक व्यक्तित्व, नागरिक अभियान्ताहरू, न्यायाधीश, कलाकर्मी एवम् प्राज्ञिक व्यक्तत्वहरू जन्माएको छ । यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो ।
काठमाडौंको मुटुमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर र दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । शिक्षा प्रविधियुक्त हुनुपर्ने कुरालाई ह्रदयङ्गम गरी सूचना र प्रविधिको माध्यमबाट नेपाली समाज र युगले मागेको सार्वजनिक शिक्षा प्रदान गरिरहेको छ, जसमाः मन्टेश्वरी शिक्षा, कम्प्युटर शिक्षा, प्रविधियुक्त शिक्षा, पुस्तकको अध्ययनलाई सामाजिक अध्ययनसँग जोड्ने प्रचलनको विकास, सामाजिक एकता र सहअस्तित्वमा जोड, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका पूर्वाधारहरू, छात्रवृत्ति, अतिरिक्त क्रियाकलापहरू लगायतका विषयमा विद्यालयले दिएको प्राथमिकता र प्राप्त गरेको नतिजा स्मरणीय छ ।
शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्षसमेत हो । जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो मुलुकले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्दछ, त्यो देशको जनशक्ति राष्ट्रिय मात्र नभएर विश्वबजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ, सामाजिक सभ्यता र संस्कृतिमा गुणस्तर प्रगति हासिल गर्दछ । यस अर्थमा शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो भन्ने तथ्य हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्छ ।
शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ ।
प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्नयोग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक छ । यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य जरूरी छ ।
देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ । यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।
नेपालको शैक्षिक जगतको इतिहासमा नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विद्यालयले पनि बदलिँदो राजनीतिक परिस्थिति, २१ औँ शताब्दीको विश्वव्यापी चरित्र, हाम्रो राष्ट्रिय मान्यता र आवश्यकतालाई समेत ध्यान दिँदै गुणस्तरीय, सर्वसुलभ, प्राविधिक र स्वरोजगारीमुखी शिक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वासका साथ हीरक जयन्तीको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दछु, धन्यवाद ।








प्रतिक्रिया राख्नुहोस्