सुशासन र विकासतर्फ लाग्नुपर्छ : अध्यक्ष नेपाल

भक्तपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र बिकारलाई अन्त्य गरेर सुशासन र विकासतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
आज भक्तपुरको गठ्ठाघरस्थित सीभीएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पूर्व प्रधानमन्त्री नेपालले सरकार, शिक्षण संस्था, अभिभावक र सरोकारवाला सबैले सोही अनुसार शिक्षा नीति निर्माणमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्र असल, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
समाजमा बस्ने सबैमा एक अर्कामा सम्मान र आदरको भावना विकास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सुसंस्कृति, समृद्धि र प्रगतिको दिशामा लम्कनुपर्ने बताउनुभयो ।
नेपाली हुँ भन्ने भावना सबैमा हुनुपर्ने बताउँदै नेपाली पहिचान, भाषा, संस्कृति, इतिहास र असल परस्पराको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउँदै उहाँले शिक्षाले विवेक जागृत हुने ज्ञान दिन सक्नुपर्ने बताउनुभयो ।
अबको शिक्षा युगिन, वैज्ञानिक, सान्दर्भिक, सुलभ, देशभक्तिपूर्ण र आत्मविश्वास बढाउने हुनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले शिक्षा क्षेत्र, देश बनाउने र युग सुहाउँदो नयाँ पुस्ता तयार गर्ने मार्ग भएको उल्लेख गर्नुभयो ।
हामी नेपाली शत्रुता होइन सबैसँग मित्रता चाहन्छौ भन्दै उहाँले हाम्रो भूमिलाई पनि कसैले समस्यमा नपारिइदिउन् भन्ने चाहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकले पढाउने विद्यार्थी भविष्यमा डाक्टर, इन्जिनियर मात्र होइन असल शिक्षक पनि बन्छु भन्ने खालको अवस्था सृजना गर्न सक्नु शिक्षा क्षेत्रको चुनौती रहेको बताउनुभयो ।
स्कुलका अध्यक्ष श्याम बस्नेत, प्रिन्सिपल तेजकृष्ण श्रेष्ठ र कार्यकारी निर्देशक पुरुषोत्तम बुढाथोकीले विद्यालयका गतिविधि बारे चर्चा गर्नुभयो ।
सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्