तपाईँ सुन्दै हुनुहुन्छः

चन्दननाथमा मिसन ग्रासरुट सुरु

जुम्ला । नेकपा (एमाले) को मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाको चन्दनाथ नगरपालिका स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले माओवादी र कांग्रेको अप्राकृतिक र अवाञ्छित गठबन्धनले मुलुकलाई अधोगतितिर लैजाने भएकाले त्यसका विरुद्धमा जनतालाई जागरूक बनाउँदै एमालेलाई बहुमतमा पुर्‍याउन आजैदेखि कार्यकर्ताहरू गाउँघरमा खट्नुपर्नेमा जोड दिनुभयो ।

‘एमालेले कसैको नुन खाएको छैन । आफ्नो बलमा उभिएको छ, आफ्नो निर्णय आफै गर्दछ’, केन्द्रीय सदस्य रिजालले भन्नुभयो, ‘त्यसैले हामीलाई जति दण्डित गर्न खोजियोस्, हामी कुनै शक्तिका सामु झुक्दैनौँ । यही मुद्दाका साथ हामी जनताको इजलासमा खडा भएका छौँ । हामीलाई विश्वास छ, जनताको इजलासबाट न्याय पाउनेछौँ ।’

चन्दनाथका १० वटै वडाबाट आएका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता रिजालले राजनीति अस्थिरता र अव्यवस्थाको अन्त्य गर्न एमालेले जित्न अनिवार्य रहेको बताउनुभयो ।

चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रम एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्यहरु डा। कुशेन्द्र महत, धीरेन्द्रराज गिरी, गोर्खबहादुर पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, जयलक्ष्मी चौलागाईलगायतले बोल्नुभएको थियो ।

भेलाबाट १० वटै वडाका कार्यक्रमहरू तय गरिएका छन् ।

चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका लागि केन्द्रीय प्रतिनिधि तोकिनुभएका केन्द्रीय सदस्य रिजाल ती दुई पालिकाका १८ वटै वडामा आयोजित कार्यक्रममा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ । अभियानका क्रममा वैचारिक प्रशिक्षण आयोजना गरिनुका साथै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानका रुपमा सञ्चालन गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button