तपाईँ सुन्दै हुनुहुन्छः

‘अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्छ’

लुम्बिनी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुने गरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ ।

नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेड क्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सेनाका विषयमा आम जनमानस दिग्भ्रमित हुने गरी कपोलकल्पित र झुटा टीकाटिप्पणीप्रति सचेत र सजग रहनुपर्ने समेत बताउनुभयो ।

प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षाकवच एवं सेनालाई जनताको समाजसँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा राष्ट्रले लिएको बताउँदै प्रधानसेनापति शर्माले सोहीअनुसार अवकाशप्राप्त सेनाले इज्जतका साथ काम गरेर समाजलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक मूल्य, मान्यता र अनुशासन पालना गरी सेवामा रहँदा प्राप्त गरेको ज्ञान, सीप र कलाको अधिकतम सदुपयोग गर्दै राष्ट्र सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो । सीमित साधन स्रोतका बाबजुद पनि सेवा निवृत्त नेपाली सेना र आश्रित परिवारको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी दिँदै प्रधानसेनापति शर्माले शिक्षा स्वास्थ्य र स्वारोजगारमूलक कार्यक्रमका लागि सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेकाले यसबाट अधिकतम लाभ लिन अनुरोध गर्नुभयो ।

बलाध्यक्ष रथी सीताराम खड्काले नेपाली सेनाभित्र अपनत्वको भावना जागृत गराउन सम्मेलन सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेना सबैको शक्ति र सम्पत्ति भएको बताउँदै कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गर्नुभयो ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले शिक्षा, स्वास्थ्य र सीपमूलक तालिमका लागि सहयोग प्रदान गर्दै आएको बताउँदै उद्यमशील क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत रु १५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अवकाश प्राप्त सैनिकका तर्फबाट प्रादेशिक रथी नेपाल भूषण चन्दले कल्याणकारी कोषमार्फत परिमार्जित र परिष्कृत ढङ्गबाट कार्यक्रम ल्याएको बताउनुभयो । सेना भूतपूर्व सैनिक सङ्घका महासचिव श्यामसुन्दर घिमिरेले यस किसिमको सम्मेलनले भूतपूर्व र बहालवाला सैनिकबीच सामिप्यता ल्याई सम्बन्ध विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम पृतनाअन्तर्गतका सात जिल्ला अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, रुपन्देही नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट करिब चार हजार अवकाश प्राप्त भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्ति भरणमा रहेका सदस्यको सहभागिता रहेको छ ।

सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड ३७ लाख रहेको र त्यसको ब्याजबाट प्राप्त रकम सेनाको कल्याणकारी कार्यक्रममा लगानी गरिँदै आएको जनाइएको छ । उक्त कोषबाट हालसम्म १० लाख बढी हिताधिकारी लाभान्वित भएका छन् ।

सैनिक अस्पताल छाउनीको अत्याधुनिक स्वास्थ्य उपकरणसहित सुदृढ तुल्याएको, फरक क्षमता भएका सैनिकका सन्ततिका लागि अलग्गै विद्यालयका सञ्चालन गर्न थालिएको र देशभरिका सेनाका कक्षा ४ भन्दा माथिका सन्ततिलाई प्रतिव्यक्ति रु २० हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको, सैनिक परिवारका बालिकाका लागि सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन मेसिन खरिद गरी उत्पादन गर्न थालिएको जानकारी गराइयो ।

कार्यक्रममा नेपाली सेनाबाट अवकाश प्राप्त, सेनामा कार्यरत परिवारका अभिभावक, सेनामा कार्यरत रहँदा शहादत प्राप्त परिवार तथा कल्याणकारी कोषबाट सहुलियत कर्जा लिएर स्वरोजगारमूलक व्यवसाय गरेका अवकाश प्राप्त सेना तथा आश्रित परिवारलाई सम्मान र पुरस्कृत गरिएको थियो । त्यस अवसरमा सेना र राष्ट्रिय सेवा दलका सदस्यले विभिन्न सांस्कृतिक झाँकीसहित नाचगान प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button