तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जका पुनः स्थापना गृहहरूको अनुगमन

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित पुनः स्थापना गृहहरूको अनुगमन गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनः स्थापना गृहहरूको अनुगमन गरेको हो ।

साथी संस्थाको पुनः स्थापना गृह, साना हातहरू नेपालको पुनः स्थापना गृह, शान्ति पुनः स्थापना गृह, माइती नेपालको पुनः स्थापना गृह र शक्ति समूहको पुनः स्थापना गृहको अनुगमन गरिएको छ । 

नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्य द्वय निवर्तमान उपप्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमनमा पुग्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका भारतसँग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचबिखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जोखिमपूर्ण यात्रा गरिरहेकाहरूको चाप बढी देखिने गरेको छ । शङ्कास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरूलाई आवश्यक सोधपुछ र खोज नीति गरेर शङ्कास्पद व्यक्तिहरू र पीडितहरूलाई अल्पकालीन आश्रम दिन पुनः स्थापना गृह सञ्चालनमा छन् ।  पुनः स्थापना गृहहरूले पीडितहरूलाई कानुनी उपचारमा सहयोग सँगसँगै समाजमा पुनः स्थापना गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।

नेपालगञ्जमा जमुनाहा, खडैंचा, शिवपुरी लगायतका नाकाहरूबाट पीडितहरूको उद्धार र शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने गरिएको छ । 

अनुगमनका क्रममा पुनः स्थापना गृहहरूको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सञ्चालन कार्यविधि लगायत विद्यमान समस्याहरूबारे जानकारी लिइएको थियो । पुनः स्थापना गृहहरू सीमित स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको कार्यदल संयोजक पुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button