तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ बनाउने बहानामा गहना तथा पुराना सामान लुटपाट  

हापुरे । केही दिनअघि शान्तिनगर ५ बाघढुईकी साबित्रा वलीले अपरिचित महिलासँग सुनको औँठी बनाउन दिनुभयो । ती महिलाले सुनको औँठी र तीन हजार रुपैयाँ पनि फिर्ता गरिन् ।

अपरिचित महिलाले यसरी सुन लिएर मर्मत गरी थप तीन हजार रुपैयाँ समेत फिर्ता गरेपछि वलीले थप ४ आनाको गहना पनि बनाउनलाई दिइन । वलीसँग आसपासका महिला दिदीबहिनीले गरेर एक तोला दश आना सुन, २ किलोग्राम एक तोला २ आना चाँदी समेत दिए ।

यस्तै तुलसीपुर २ खैरीपुरकी पार्वती गिरीलाई यस्तै महिलाको समूहले झुक्याएको छ । पहिलो पटक सानो भाँडो लिएर मर्मत गरेर फिर्ता गरेपछि दोस्रो पटक सिल्बरको बाल्टी, काँसको कसौरी र तामाको गाग्री दिनुभएको थियो । उक्त सामान पनि गएको बुधबार फिर्ता गर्नुपर्नेमा अहिलेसम्म बेपत्ता भएका छन् ।

उनीहरूले बहुमूल्यका भाडा बर्तनसँगै सुन र चाँदीका गहना समेत गाउँलेसँग लिएको बुझिएको छ । उनीहरूले गाउँलेसँग भएका तामा, पित्तल, काँस र सिल्पटका भाडा मर्मत गर्ने भन्दै लिने गरेका छन् । भाडा मर्मतका लागि लिए पनि फिर्ता नगरेर बेपत्ता हुने गरेको स्थानीयको भनाई छ ।

साबित्रा र पार्वतीको परिवारलाई विश्वासमा पारेको अपरिचित महिलाको समूहले गाउँघर छर छिमेकका दिदी बहिनीलाई विश्वासमा पारेर यति धेरै समान दिएर पठाएका थिए । सोही विश्वासका आधारमा ती अपरिचित महिलाले सामान फिर्ता दिन आउनुपर्ने हो । तर, दोस्रो पटक त्यस्तो भएन । कसैले पनि नचिनेका, सम्पर्क नम्बर समेत कसैसँग छैन । जसले गर्दा सुन र चाँदीका गहनासँगै तामा, पित्तल, काँस तथा सिल्पटका भाडा समेत लुटिएका छन् ।  

यति धेरै बहुमूल्य गहना तथा सामान लिएर बेपत्ता भएपछि अहिले त्यस क्षेत्रका स्थानीय महिला दिदीबहिनीलाई सुखले निद्रा नै पर्न छोडेको छ । गहना तथा सामान लिएर बेपत्ता भएका महिलाको खोजीका लागि उनीहरूले सबैलाई गुहार माग्ने गरेका छन् । पत्ता लाग्न नसक्दा उनीहरूको परिवारमै विखण्डन आउने अवस्था सिर्जना भएको उनीहरूको भनाई छ ।

शान्तिनगरकी गौरी वलीले श्रीमान्, छोराछोरी तथा आफन्तले गाली गर्ने गरेको बताउनुभयो । लोभले गहना र भाडा दिएको भन्दै गौरी वलीले पछिल्ला केही रात राम्रोसँग निद्रा नपर्ने बताउनुभयो । सोझोपनले सामान दिएको बताउने गौरीले यस्तो होला भन्ने सोच्न समेत भ्याउनुभएको थिएन ।

ती महिलाको खोजीका लागि तुलसीपुर बजारसम्म पुगेको उनीहरू बताउँछन् । पुलिसले पनि पत्ता लगाउन नसक्ने बताएको छ । उनीहरूले महिलालाई कतै फेला पार्न सकेका छैनन् ।  ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले अपरिचित महिलाको नाममै निवेदन दिनुपर्ने बताउनुभयो ।

प्रहरीलाई निवेदन दिएपछि बाँकी प्रक्रिया भविष्यमा पनि जोडेर गर्न सकिने प्रहरी प्रमुख बिसीको भनाई छ । तुलसीपुर र शान्तिनगरमा भएको यस्ता घटनामा फरक÷फरक महिला प्रयोग भएको देखिए पनि उनीहरूको शैली एकै प्रकारको रहेको स्थानीयले बताएका छन् ।

गाउँघरमा उनीहरू लगातार एक हप्तासम्म घुम्ने तथा पहिलो पटक सानो लिएर फिर्ता गर्ने अनि दोस्रो पटकमा धेरै सामान लिएर बेपत्ता हुने गरेको स्थानीयको भनाई छ । 

पहिलो पटक छिटो समान फिर्ता गर्ने र दोस्रो पटकमा लामो समयको भाका राखेर बेपत्ता हुने गरेको गिरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button