साहित्यकार वस्तीको ‘तारापुञ्ज’ गीतसङ्ग्रह प्रकाशित

काठमाडौँ । साहित्यकार तथा गीतकार ताराप्रसाद वस्तीको गीतसङ्ग्रह ‘तारापुञ्ज’ प्रकाशित भएको छ ।
गीतसङ्ग्रहमा ६० वटा गीतहरू समावेश गरिएका छन् । बिछोडको चर्चा धेरै, दुःखको आँसु, ढुङ्गो जस्तो तिम्रो मन, मेरो प्यारो देश, विकासका लहरहरू, यसपालिको दशै जस्ता चर्चित गीतहरू समावेश गरिएका छन् । समावेश भएका गीतहरूमध्ये केही गीतहरू रेकर्ड भई प्रसारण समेत भइसकेका छन् ।
साहित्यकार तथा वरिष्ठ कवि डा. नवराज लम्साल यो गीतसङ्ग्रह एकदमै उत्कृष्ट रहेको बताउनुहुन्छ । साहित्यकार वस्ति बालमनोविज्ञानसँग नजिक भएको र साहित्यलाई अनुभूतिको गहिराइमै पुगेर रचना गर्न सक्ने खुबी भएको लम्साल बताउनुहुन्छ । तारापुञ्ज बालसाहित्यकार वस्ती र कवि वस्तीबीचको पुल भएको र गीतसङ्ग्रह सुपाठ्य, सुललित र रेकर्ड गर्न योग्य रहेको समेत लम्साल बताउनुहुन्छ ।
तारापुञ्ज गीतसङ्ग्रह वस्तीको चौथो रचना हो । यसअघि रेडियो पत्रकारिता : हाते पुस्तक (२०७३), सिर्जनाका साथीहरू : बालकथा सङ्ग्रह (२०७५), मुसीको चकचक : बालकविता सङ्ग्रह (२०७८) प्रकाशित भइसकेका छन् ।

बिछोडको चर्चा धेरै
बिछोडको चर्चा धेरै फैलिएछ जनजन
नभन भो कैल्यै अब तिमी मेरो आफ्नो बन ।
प्रमिल डुङ्गा सँगै तर्ने मनमा धोको थियो भने
फाइदा किन लियौ भन भजाइ मेरो सोझोपन
बहाना नि कतिकति अझै कति होलान् बाँकी
कसैलाई नि नसिकाऊ भो मायाजालमा परिरहन ।
अब तिमी बाँकी छैनौ आँसु सँगसँगै बग्यौ
खुसीको त्यो रथ चलाऊ अझै रमाइ–रमाइकन
फेरी भन्छु नखोज है बिर्सिदेऊ अब मलाई
सम्हालेर राख बरु बहकिने तिम्रो मन ।
बिछोडको चर्चा धेरै फैलिएछ जनजन
नभन भो कैल्यै अब तिमी मेरो आफ्नो बन ।








प्रतिक्रिया राख्नुहोस्