काभ्रेपलाञ्चोकमा राहदानी लिन टोकन र टाइम कार्ड लागू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा राहदानी वितरणमा देखिएका समस्या समाधानका गर्नका लागि टोकन र टाइम कार्ड लागू गरिएको छ ।
नागरिकलाई अनावश्यक झन्झट हुन नदिन तथा घण्टौँ लाइनमा बस्न नपर्ने उद्देश्यले टाइम र टोकन प्रणाली सुरु गरिएको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै केही दिन असुविधा जस्तो देखिए पनि दीर्घकालीन रुपमा सहज हुने गरी कार्य प्रारम्भ गरिएको बताउनुभयो ।
यही माघ १६ गतेदेखि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनमा कार्यालयमा हाजिर हुनुभएका पौडेलले हाजिर भएलगत्तै जिल्ला प्रशासनबाट हुने सेवालाई प्रभावकारी र सरल बनाउने प्रयत्नलाई प्राथमिकतामा राख्नुभएको हो ।
“काभ्रेपलाञ्चोकमा राहदानी प्राप्त गर्न आउने सेवाग्राहीहरूका लागि आजदेखि टोकन प्रणाली सुरु गरिएको छ ।”, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “टाइम कार्ड र टोकन एकै पटक वितरण गरेपछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैले गरिदिने भएको छ । यसले नागरिकहरूले अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण हुनेछ ।”
यसअघि, राहदानीको फाराम भरे बापत साइबरहरूले २ सय देखि ५ सय रुपैयाँसम्म असुल्दै आएका थिए भने जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेको थियो । झन्झटिलो प्रक्रियालाई सहज र सरल बनाउन प्रशासनले पहिलो पटक टाइम कार्ड र टोकन एकै पटक वितरण गरिएको उहाँले बताउनुभयो।
राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नुपर्नेछ । टोकन र टाइम कार्ड लिएको व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने छैन ।
प्रशासनले पहिलो चरणमा बिदाको दिनमा समेत कार्य गर्ने गरी योजना बनाएको छ। राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टर पनि बिदाको अवधिमा खोल्ने गरी प्रशासन कार्यालयले व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र नलिने व्यक्तिहरूले पहिले त्यहाँ फोटो खिचाएको तीन दिनपछि मात्रै राहदानीको फाराम भर्न सक्ने बताइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा अब सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागु गरिने बताइएको छ । तर ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने फरक व्यवस्था गरिएको छ ।
सेवाग्राहीले राहदानीको फाराम भरेसँगै आफ्नो विवरण आफै हेरेर मात्रै सही छाप गरेपछि प्रशासनले प्रक्रियालाई अगाडी बढाउने छ । यो प्रक्रियाले प्रशासनमा राहदानी तथा अन्य सेवाका लागि हुने भिड नियन्त्रण हुन सक्ने विश्वास गरेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्