‘सुशासन र समृद्धिको नयाँ यात्रामा सफलता हासिल गर्नैपर्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य, सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सरकार सुशासन र समृद्धिको नयाँ यात्रामा अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताउनुभयो ।

सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले संसद्मा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्त्वका साथ समावेश गरेको उल्लेख गर्नुभयो । उहाँले अब परम्परागत रूपले मुलुकको आर्थिक विकास र समृद्धिको चाहना पूरा नहुने भएकाले त्यसमा ‘रेडिकल रिफर्म’ तिर जानुपर्छ भन्नेमा जोड दिइएको स्पष्ट पार्नुभयो ।
संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीले मुलुकलाई सामाजिक न्याय, सुशासन र समृद्धिको मार्गमा अगाडि बढाउने सङ्कल्प पूरा गर्न अर्थशास्त्रका जानकार सबैलाई आग्रह गर्नुभयो ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अभियान चलाउँदै गर्दा पनि आफूले अबको मार्गभित्र आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गरेको समेत स्मरण गर्नुभयो ।
राष्ट्र र जनताका अगाडि गरेको सङ्कल्पलाई पूरा गर्न आफू दृढ इच्छाशक्तिका साथ लागिपरेको जानकारी दिनुहुँदै उहाँले परिस्थितिमा परिवर्तन ल्याउने अठोट गरियो भने मात्रै त्यसबाट सकारात्मक परिणाम हासिल हुने बताउनुभयो ।
सम्पूर्ण शक्ति सिंहदरबारमा केन्द्रित हुँदा जनता निरीह हुने भएकाले तीन तहका सरकार निर्माण गरी जनतालाई अधिकार सम्पन्न बनाइएको समेत प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले संरचनागत परिवर्तनको विषयलाई प्राथमिकताका साथ अगाडि बढाएको र आफ्नै संयोजकत्वमा पुनः संरचना आयोग बनाएर कर्मचारीतन्त्रको पुनः संरचना, ओभरस्टाफिङको अन्त्य तथा अनावश्यक संरचनाको खारेजी तथा समायोजनको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
कुनै समय खाद्यान्नमा आत्मनिर्भर भएको देश कसरी परनिर्भर भयो भनेर खोजी गर्दै सकारात्मक दृष्टिकोणका साथ अठोट गरिए केही वर्षमा ठूलो प्रगति र विकास गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । निराश भएर बस्नेभन्दा सकारात्मक अठोट गर्नुपर्नेमा जोड दिँदै उहाँले पछिल्ला दुई महिनामा अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखापरेको भए पनि त्यो स्थायी नभएको बताउनुभयो ।
अर्थतन्त्रमा रहेको अनौपचारिक अंशलाई औपचारिक प्रणालीमा ल्याउने, तस्करी, अवैध कारोबार तथा राजस्व चुहावट रोक्ने दिशामा निर्ममतापूर्वक सरकार लागिपरेको र त्यसका लागि कार्ययोजना तयार पार्ने र लागू गरिने प्रधानमन्त्रीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्